४ कार्तिक २०८३, बुधबार

संघर्षमै छिन् दीपिका, आउँदै छ नयाँ गीत

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोक दोहोरी गायिका दीपिका मगरले नयाँ गीत रेकर्डिङको तयारी गरेकी छिन् । लोक दोहोरी साँझमा लामो समय गीत गाउँदै आएकी दीपिकाले अहिलेसम्म १२/१५ वटा गीत गाइसकेकी छिन् । गायिका दीपिकाले ‘तिर्सना मेटाऔँला…’ बोलको गीत रेकर्ड गराउँदै छिन् । गीतको सबै तयारी पूरा भइसकेको छ ।

नवलपरासी जिल्लाको अरुणखोला निवासी दीपिकाका ‘जुग जाने माया’, ‘यो पिरती कस्तो’ बोलका गीतहरू मनपराइएका गीतहरूको सूचीमा पर्छन् । सानै उमेरदेखि उनले गीत गाउन थालेकी हुन् । विद्यालयमा पढ्दा गायन प्रतियोगितामा भाग लिने गरेकी दीपिकाले भनिन्, ‘सानै उमेरमा पनि धेरै गीतसंगीतको प्रतियोगिता जितेको छु ।’

राजु परियार, विमाकुमार दुरा, राजेश पायल राई जस्ता गायक गायिका गायन शैलीबाट प्रभावित दीपिकाले गीत संगीतमा जम्न लामो संघर्ष गरेको बताउँछिन् । ‘झण्डै पाँच वर्षदेखि गीत संगीतमा संघर्ष गरिरहेकी छु’, उनले भनिन्, ‘घरपरिवारको सहयोग र समर्थन नरहेको भए सायद म यो ठाउँमा पुग्ने थिएन ।’

विभिन्न सांगीतिक कार्यक्रममा जाँदा दर्शक स्रोताहरूबाट उल्लेख मायाँ पाउने गरेको उनको भनाइ छ । ‘गायिका भएका कारण होला मायाप्रेमका प्रस्ताव पनि आइरहन्छन्’, दीपिकाले अनुभव सुनाउँदै भनिन्, ‘यो जुनीमा यस्तै भयो । अर्को जुनीमा सोचौँला भनेर जवाफ दिने गरेकी छु ।’ गायनमा लागेपछि नाम र शुभेच्छुकहरू कमाएको उनले बताइन् ।

कुराकानीका क्रममा राजु परियार र विमाकुमारी दुराको नाम पटक पटक लिएकी गायिका दीपिकाले भनिन्, ‘लोकदोहोरी मात्रै होइन सबै प्रकार गीत गाउन सक्छु । म अलिक धेरै लोकदोहोरीतिर प्रभावित छु ।’ राजेश पायल राईको स्वर पनि दीपिकालाई निकै मनपर्छ । भन्छिन्, ‘राजेश पायल भर्सटाइल गायक हुनुहुन्छ । उहाँको स्वर निकै राम्रो छ ।’

नेपाली फिल्म पनि दीपिकालाई साह्रै मन पर्छ । फुर्सद हुनेवित्तिकै उनले नेपाली फिल्म हलसम्म पुगेर हेर्छिन् । केही समय अगाडि दुबइमा रहेको नेपाली लोक दोहोरी साँझ एवम् रेष्टरेन्टमा पनि गीत गाएको दीपिकाले स्मरण सुनाइन् । ‘लोक दोहोरी गीत सुन्न नेपाली दाजुभाइहरू दोहोरी साँझमा आउनु हुन्थ्यो । धेरै खुसी लाग्ने’, उनले भनिन्, ‘दुबइमा लोक दोहोरी गीतका पारखीहरू हुनुहुन्छ ।’