२१ कार्तिक २०८३, शनिबार

योजना आयोग, वन र खानेपानी मन्त्रालयमा सोफेनको ध्यानाकर्षण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कठमाडौं, ४ जेठ । जन स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था (पब्लिक हेल्थ इञ्जिनियर्स एशोसियसन, सोफेन)को अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसियसन र खानेपानी क्षेत्रमा कार्यरत प्राविधिकहरुको एक प्रतिनिधि मण्डलले शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेल, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र खानेपानी तथा सरसफाई मन्त्री विना मगरलाई भेट गरेको छ ।

सोफेनका अध्यक्ष रामदीप साहको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सरकारले ल्याउने आगामी नीति तथा कार्यक्रम र बजेटमा खानेपानी, वातावरण र जलवायु परिवर्तन सम्बन्धी विषयमा ध्यानाकर्षण गरेको छ । प्रतिनिधि मण्डलले सोफेन, नेपाल इञ्जिनियर्स एशोसियसन (एनईए) र खानेपानी तथा ढल निकास विभागद्धारा गत चैत्र २७ देखि २९, २०७४ मा आयोजित जल, वातावरण र जलवायु परिवर्तन ज्ञानको आदान प्रदान र साझेदारी विषयक अन्तराष्ट्रिय सम्मेलनले पारित गरेको ११ बुँदे संकल्प प्रस्तावको बारेमा जानकारी गराउँदै त्यसलाई नेपालको सन्दर्भमा लागू गर्ने उपायहरुको बारेमा पनि सुझाएको थियो ।

प्रतिनिधि मण्डलले नेपालले संयुक्त राष्ट्र संघीय दिगो विकासका लक्ष्यहरु हासिल गर्नका लागि गरेको प्रतिबद्धता अनुरुप सबै नेपालीलाई स्वच्छ पानी उपलब्ध गराउन आगामी आर्थिक वर्ष २०७५/७६ मा स्वच्छ खानेपानी विधेयक तर्जुमा गरि संसदबाट पारित गराउन ध्यानाकर्षण गरेको छ ।

सोफेनले नेपाली जनतामा शहरीकरणको चाहना तीव्र रहेको र शहरीकरणको विकास पनि तीव्र रुपमा भैरहेको उल्लेख गर्दै शहरीकरणसँगै आउने फोहर मैला व्यवस्थापन, मानव मल मूत्रीय फोहर व्यवस्थापन र ढल व्यवस्थापन योजनाबद्ध ढंगले विकास गर्न जरुरी देखिएको बताएको छ ।

सोफेनले फोहर मैला व्यवस्थापनका सन्दर्भमा रिड्यूस, रिसाइकल र रियुज मोडल अपनाउन ब्यापक जनचेतना अभिबृद्धि गराउनुको साथै स्थानीय निकायका नगरपालिका र गाँउपालिका स्तरमा समेत शहर र बजारमा ढलको दिगो व्यवस्थापनका लागि उपयुक्त प्रविधि अवलम्बन गर्ने व्यवस्था गर्न पनि सुझाव दिएको छ ।