१ कार्तिक २०८३, आइतबार

१० लाख धरौटीसहित ब्रेकर नियन्त्रणमा, एक्साभेटर छाडियो

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भैरहवा, ३ जेठ । व्यवसायीले पाँच दिनसम्म पनि यथेष्ट प्रमाण जुटाउन नसके पछि पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले प्रज्ञापन पत्र विना भन्सार पास भएको ह्यामर (ब्रेकर) लाई नियन्त्रणमा राखी धरौटी जमानत वापत १० लाख रुपैयाँ समेत लिएको छ । ह्यामरसँगै नियन्त्रणमा लिइएको एक्साभेटरको प्रज्ञापन पत्र सहित अन्य कागजात ठीक देखिएपछि छाडिएको छ ।

‘तत्कालका लागि १० लाख धरौटी लिएर ह्यामर नियन्त्रणमा राखिएका छ, प्रमाण पुरा भएको एक्साभेटर भने व्यवसायीलाई बुझाई सकेका छौं’, प्रमुख अनुसन्धान अधिकृत नरेन्द्रराज पाण्डेले भने– ‘व्यवसायीले पेस गरेका कागजात हेर्दै छौं छिट्टै यथार्थ बाहिर ल्याउँछौं ।’

राजश्वले भन्सार पास भएर ना.७ख ९३२८ र ना.५ख ७३८३ नम्बरका ट्रकमा लोड गरिएका एक÷एक वटा एक्साभेटरको प्रज्ञापन पत्र भए पनि दुईवटै ट्रकमा लोड गरिएका एक/एकवटा ह्यामरको प्रज्ञापन पत्र नभएपछि आइतबार राति नवलपरासीको दाउन्नेबाट ट्रकसहित सामान नियन्त्रणमा लिएको थियो ।

बतास ट्याक्टर प्रालि गौरीधार काठमाडौले आयात गरेका यी मेसिनरी सामानमा ह्यामरको भ्याट नम्बर ३०४००६८७७ बाट बैशाख २४ गतेको मितीमा बिल काटिएको भए पनि प्रज्ञापन पत्र नभएपछि बिल नक्कली र भन्सार छली भएको हुन सक्ने आशंकामा राजश्वले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । बतास ट्याक्टर प्रालि गौरीधारा काठमाडौंको उक्त ह्यामर भन्सार कर्मचारी, एजेन्ट र व्यवसायीको मिलेमतोमा भन्सार छली गरी ल्याइएको आशंका गरिएको छ ।

एक्साभेटर आयात गरिएको प्रज्ञापन पत्रमा भन्सार अधिकृत शिवओम श्रेष्ठ र एजेन्टकातर्फबाट मधुप्रसाद पन्थीको हस्ताक्षर छ । भैरहवा भन्सारमा पछिल्लो समय मिलेमतोमा गैरभन्सार क्रियाकलाप बढ्दै गइरहेका छन् । यसअघि पनि कर्मचारी, एजेन्ट र व्यवसायीको मिलेमतोमा तरकारीको पज्ञापन भरी अवैधानिक कुखुराको मासु भन्सार पास गरिएको थियो । विना पज्ञापन एक भ्यान कपडा समेत पास भएका थिए । तर उक्त सामान प्रहरीले नियन्त्रणमा लिएपछि घटना बाहिर आएको थियो ।

आइतबार पास गरिएको ह्यामर बतास कम्पनीका म्यानेजिङ हाइरेक्टर देवेन्द्र श्रेष्ठले भन्सार लिलामीबाट खरिद गरिएको बताए पनि भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले भने उक्त कुरा सत्य नभएको बताए । एउटा ह्यामरको भन्सार मूल्य १७ लाख बढी पर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र विभागीय मन्त्री डा.युवराज खतिवडाले भ्रष्टाचारलाई शून्य सहनशीलता ल्याउने र चौरीपैठारी नियन्त्रण गर्ने दावी गरिरहेका बेला भैरहवा भन्सारबाट भने मिलेमतोमा दैनिकजसो गैरभन्सार क्रियाकलाप हुँदै आएको छ । यसले दण्डहीनता त मौलाएको छ नै भन्सार विभागले आर्थिक वर्ष २०७४/७५ मा भैरहवा भन्सार कार्यालयलाई दिएको राजश्व लक्ष्य समेत पुरा नहुने देखिएको ।

आर्थिक वर्ष सकिन २ महिनामात्रै बाँकी रहँदा भन्सार कार्यालयले लक्ष्य भन्दा करिब २० प्रतिशत कम राजश्व संकलन गरेको छ । विभागले कार्यालयलाई ८१ अर्ब राजश्व लक्ष्य तोकेको थियो ।