
काठमाडौँ, ३ जेठ । जनता बैंक लिमिटेडले लम्जुङको दोर्दी गाउँपालिकामा तीन दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बैंकले बैशाख २८, २९ र ३० गते निःशुल्क मोतियाविन्दुको अप्रेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाक, कान, घाँटी र सामान्य चिकित्सा सम्बन्धी शिविर गरेको हो । शिविरमा एक हजार २ सय ९५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
यसमध्ये ३० जना विरामीको शिविरस्थलमै मोतिबिन्दुको अपरेशन गरिएको थियो भने २९ जना महिलाहरुलाई पाठेघर सम्बन्धि अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको छ । उक्त अपरेशनमा जनता बैंकले आर्थिक सहयोग गर्ने छ । साथै ५०० जना भन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको छ । आँखाको अपरेशन गरेका विरामीहरुको चौथो दिनमा शिविरमै फलोअप राखिएकोमा सबै विरामीहरुको अवस्था सामान्य रहेको थियो ।
स्वास्थ्य शिविरको समापनको अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँसम्म आई यति धेरै जनताहरुको स्वास्थ्य उपचारमा सहयोग गरेकोमा जनता बैंक तथा सहयोगि संस्थाहरुप्रति आभार व्यक्त गरे ।
स्वास्थ्य शिविरमा नेपाल नेत्रज्योती संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पताल प्रा.लि. जावलाखेलका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्राविधिक सेवा प्रदान गरेका थिए । स्वस्थ्य नारी पहलमार्फत विपन्न ग्रामिण महिलाहरुको स्वास्थ्य सुधारमा महत्वपूर्ण सहयोग पुर्याउने उद्देश्यले बैंकले स्त्री तथा प्रसूति रोग सम्बन्धि यस्ता शिविरहरु अन्य क्षेत्रमा पनि गर्दै जाने योजना बनाएको छ ।















प्रतिक्रिया