
काठमाडौंको सुन्धाराबाट रेष्टुरेन्ट र होटेलको व्यवसाय सुरुवात गरेका शंकर भण्डारी सेकुवाको आफ्नै खालको ब्राण्ड बनाउने योजनामा छन् । उनले काठमाडौंको कलंकी नजिकै रविभवनमा प्रेसिडेन्ट फेमिली सेकुवा एण्ड रेष्टुरेन्ट खोलेका छन् । उनले दुई महिनादेखि प्रि ओपनिङ गरेर सञ्चालन गर्दै आएका थिए । प्रेसिडेन्ट सेकुवालाई उनले १५ दिन अगाडि ग्राण्ड ओपनिङ गरेका हुन् । । पार्किङका साथै साना बालबालिकाका लागि खेल्ने अलग व्यवस्था गरेका उनले चितवनमा पनि सेकुवाको रेष्टरेन्ट खोल्ने तयारी गरेका छन् । गुल्मी हुँदै काठमाडौं प्रवेश गरेका भण्डारीले होटेल र रेष्टुरेन्टको व्यवसायबाट राम्रो आम्दानी गरेको बताउँछन् । पछिल्लो समय चितवनमा पनि बसोबास गर्न थालेका भण्डारीले चितवनमा सेकुवाको नयाँ रेष्टुरेन्ट खोल्ने तयारी गरिरहेको बताए । त्यति मात्रै होइन लम्बिनीमा पनि भण्डारीले प्रेसिडेन्ट होटेल खोलेका छन् । उनै शंकर भण्डारीसँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानी :–
तपाई रेष्टुरेन्ट र सेकुवाको व्यवसायमा कसरी आइपुग्नुभयो ?
म विगत १३ वर्षदेखि होटेल र रेष्टुरेन्टको व्यवसायमा सक्रिय छु । ग्राहकको माग र अनुरोधलाई ध्यानमा राखेर सुकुवा व्यवसायमा लागेको हुँ । यसअघि मैले होटेल र रेष्टुरेन्टको व्यवसाय गर्दै आएको थिएँ । अब सेकुवाको व्यवसायमा पनि हात हालेको छु । विगत चार वर्षदेखि सेकुवाको व्यवसाय गर्दै आएको छु ।
होटेल तथा रेष्टरेन्टको व्यवसायमा कति वर्ष काम गर्नुभयो ?
लामो समयदेखि होटेल र रेष्टुरेन्टको व्यवसायमा छु । कडा मेहनतले यो ठाउँसम्म आइपुगेको छु । ग्राहकको सन्तुष्टि र मन जितेको छु । होटेल र रेष्टुरेन्टको व्यवसायमा धेरै लामो समय विताएको छु । अनुभव लामो छ ।
सेकुवा व्यवसाय मै किन लाग्नु भएको हो नि ?
होटेल र रेष्टुरेन्ट जस्तै सेकुवाको व्यवसाय पनि राम्रो छ । ग्राहकलाई स्वास्थ्य मासुबाट बनेका परिकार अर्थात सेकुवा खुवाउन पाउँदा अनन्द लाग्छ । त्यस कारण पनि सेकुवाको व्यवसायमा लागेको हुँ । मैले जानको कुरालाई विस्तार गरेको हुँ । सेकुवाको नाममा विकृति पनि भित्रिएका छन् । त्यस्तो विकृति हाम्रो सेकुवामा हुनेछैन ।
सेकुवामा कस्तो खालको मासु प्रयोग हुन्छ ?
सेकुवामा खसीको मासु प्रयोग गरिन्छ । हाम्रो गाउँघरमा पाइनेभन्दा पनि तराईको ‘बाबरी’ जातको खसीको मासुलाई सेकुवामा प्रयोग गरिन्छ । सबैले ‘बाबरी’ जातकै खसी प्रयोग गर्छन् । लोकल खसीको मासु कडा हुने भएकाले सेकुवामा उपयुक्त हुँदैन । लोकल खसीको मासु झोल खानका लागि उपयुक्त हुन्छ ।
सेकुवामा प्रयोग हुने मासु शुद्ध हुँदैन भनिन्छ नि ?
हामी (प्रेसिडेन्ट सेकुवा एण्ड फेमली रेष्टुरेन्ट)ले खसीको स्वास्थ्य परीक्षण गरेर मात्रै सेकुवा बनाउने गर्छौं । हाम्रोबारेमा कसैलाई किचनमै गएर जानकारी लिन मन लाग्छ भने किचन सधै खुला छ । अरुले के गर्छन् थाहा भएन प्रेसिडेन्ट सेकुवामा कुनै पनि मिसावट छैन । स्वास्थ्य खसीको सेकुवा बनाएका छौँ ।
सेकुवामा जनावर (कुकुर)को नङ्ग्रा पनि भेटियो भनेर हल्ला आएको थियो ? त्यो सत्य हो र ?
उपभोक्ताहरू सचेत छन् । मैले पनि सेकुवामा कुनै जनावरको नङ्ग्रा भेटिएको भन्ने हल्ला सुनेको थिएँ । यदि त्यस्तो हो भने ग्राहकलाई धोका दिने व्यवसायीलाई राज्यले हदैसम्मको कारबाही गर्नुपर्छ । ग्राहकले पनि सेकुवा लगायत मासुजन्य खानेकुरा खाँदा विश्वास लाग्ने रेष्टुरेन्टमा जानुपर्छ । जहाँ पायो त्यही सेकुवा खानु हुँदैन । यस्तै खालको समस्या आउन थालेपछि र ग्राहकको गुनासो आएकाले प्रेसिडेन्ट सेकुवा रेष्टुरेन्ट खोलेका हौँ । सेकुवा बनाउने बहानामा केही व्यवसायीहरूले गलत काम गरेको बेलाबेला सुन्नमा आउने गरेको छ । यसलाई राज्यले सहि नियम बनाएर नियन्त्रण गर्नुपर्छ । ग्राहकको स्वास्थ्यसँग खेलवाड गर्न पाइँदैन । हामी सचेत छौँ ।
सेकुवा खाने प्रचलन अत्याधिक चलेको छ । सेकुवा भनेको हो ?
गाउँतिर पोलेको मासु खाने प्रचलन छ । शहर बजारमा त्यही पोलेको मासुमा मसला मिसाएर बनाइने परिकारलाई नै सेकुवा भनिएको हो । सेकुवामा हामीले विशेष प्रकारको मसला प्रयाग गर्ने गर्छौं । गाउँमा केही पनि नमिसाएर पोलेर खाने मासुको स्वाद भिन्दै हन्छ । शहरमा बनाइने सेकुवामा मसला भरिएको हुन्छ । त्यही फरक छ ।
तपाईहरूको सेकुवाको विशेषता के हो नि ?
सेकुवा धेरै प्रकारको हुन्छ । त्यसलाई कसरी बनाउने र त्यसको स्वाद कस्तो बनाउने भन्ने नै हो । प्रेसिडेन्ट सेकुवामा खसी र कुखुराको मात्रै सेकुवा पाइन्छ । अरुले जस्ता पोर्क र बफको सेकुवा हामीले बिक्री गर्दै नौँ । खसी र कुखुराको सेकुवा मन पाराउने फेमिलीहरूलाई ध्यानमा राखेर बनाइएको छ । हामीले कुनै ग्राहकले किचन हेर्छु भन्यो भनेर हेर्न दिन्छौँ । खसी राख्ने आफ्नै खोर पनि छ । त्यहाँ गएर खसीको स्वास्थ्यका बारेमा पनि ग्राहकहरूले आफ्नै आँखाले हेर्न सक्नु हुन्छ । हामीले स्वास्थ्य खसीको सेकुवा मात्रै खुवाउ छौँ । यो हाम्रो ग्यारेन्टी हो ।
प्रेसिडेन्ट रेष्टुरेन्ट र होटेल कहिले स्थापना गर्नुभएको हो ?
०६३ सालमा स्थापना गरिएको हो । त्यही वर्षदेखि होटेल सेक्टरमा प्रवेश गरेको हुँ । पहिला होटेल भन्ने वित्तिकै नाक खुम्चाउँथे । अहिले प्रेसिडेन्टका ७ वटा शाखा छन् । आफ्नै पहिचान छ । काठमाडौंको सुन्धारामा ६ वटा होटेल र रेष्टुरेन्ट छन् । बालाजु र सुन्धारामा प्रेसिडेन्ट सेकुवा रेष्टुरेन्ट छन् । बालाजुमा भारतीय र त्यस क्षेत्रका जनतालाई ध्यानमा राखेर स्थापना गरिएको छ । लुम्बिनीमा पनि अर्को प्रेसिडेन्ट होटेल छ । चितवनको भरतपुरमा पनि खोल्ने अन्तिम तयारीमा छौँ ।
सेकुवा खाने ग्राहकहरूको रुची कस्तो खालको हुन्छ ?
यस्तै भन्ने हुँदैन । आफ्नो जीवनशैली अनुसारका ग्राहकहरू आउनु हुन्छ । कसैले सेकुवा खानु हुन्छ । कसैले मासुका अन्य परिकारहरू खाएर जानु हुन्छ । तर, हाम्रो रेष्टरेन्टमा आउनेलाई सेकुवाको स्वाद चाखेर जानुस् भनेर कन्भिन्स गर्ने गरेका छौँ ।
सेकुवाको परिकार हुन्छ कि हुँदैन ?
नेपालीहरूको खाने शैली आफ्नै प्रकारको छ । सेकुवामा परिकारहरू हुन्छ । थुप्रै परिकार हुन्छन् । मटन सेकुवामा टाउको, राजखानी, हेकुलाका परिकार हुन्छन् । ग्राहकको चाहना बमोजिम सेकुवा बनाउन पनि सकिन्छ ।
तपाईको रेष्टुरेन्टमा सेकुवा मात्रै हो कि अरु केही पनि खान पाइन्छ ?
सबै खानेकुरा पाइन्छ । सेकुवाका साथै इण्डियन, कन्टिनेन्टल, चाइनिजसहितका खानाका परिकार छ । हामीले स्वादमा ध्यान दिएका छौँ ।
छिप्पिएको खसीको सेकुवा राम्रो बन्छ होला नि ?
पहिला त स्वास्थ्य खसी हुनुपर्छ । त्यो पनि कलिलो खसी हुनुपर्छ । छिप्पिएको खसीको मासु सेकुवामा उपयुक्त हुँदैन । एक वर्षभन्दा धेरै उमेरको खसीलाई सेकुवामा प्रयोग गर्दा त्यसको गुणस्तरीय सेकुवा बन्दैन । बोइलर कुखुराको सेकुवा राम्रो बन्छ । तर, लोकल कुखुराको धेरै राम्रो सेकुवा बन्न समस्या हुन्छ ।
तपाईहरूको मूल्य सूची कस्तो छ ?
सामान्य कमाइ हुने ग्राहकलाई ध्यानमा राखेर मूल्य सूची तयार पारिएको छ । एक हजारले दुईजनालाई पेटभरि खान पुग्छ । त्यति धैर मूल्य हामीले राखेका छैनौँ ।
खसी प्रत्येक दिन काट्नु हुन्छ ?
आइतबार र बिहीबार कलंकीमा खसी बजार लाग्छ । हामी त्यहाँ गएर स्वास्थ्य खसी किन्छौँ । आफ्नै खोरमा राख्छौँ । प्रत्यक दिन खसी काटिन्छ । खसी काटेर मेरिनेट र फ्रोजन गरेर राख्छौँ । स्वास्थ्यका लागि ध्यानमा राखेर मासुलाई २४ घण्टा डिपफ्रिज राखिन्छ । त्यसपछि बल्ल सेकुवा बनाइन्छ । धेरैले बासी मासुको सेकुवा भन्नु होला । तर, त्यो होइन स्वास्थ्यमा हाम्रो ध्यान हुनुपर्छ । कुखुराको सेकुवामा अलिक धेरै अमिलो प्रयोग गर्नुपर्छ । खसीको सेकुवामा मसला धेरै प्रयोग हुन्छ ।
सेकुवा खाँदा क्यान्सर लाग्छ भन्छन् नि ?
भारत धेरै खाइयो भने सुगर रोग लाग्छ । आवश्यक्ताभन्दा धेरै खाएमा रोग लाग्छ । सेकुवा पनि धेरै खानु भएन । आफ्नो शरीरले कति खोजेको छ त्यति खाने हो । धेरै खाएपनि बिगार त गरिहाल्छ नि ! सेकुवाका कारण क्यान्सर भएको मलाई थाहा छैन । हामीले बनाउने सेकुवा स्वास्थ्यलाई ध्यानमा राखेर बनाइएको छ । कसैले चिन्ता गर्नुपर्दैन ।
होटेल र रेष्टुरेन्टको व्यवसायबाट त राम्रो कमाइ गर्नुभयो होला है ? यति धेरै शाखा पनि रहेछन् ?
त्यस्तो धेरै पनि होइन । कमाइ राम्रै छ । मेहनत र इमान्दारिताका साथ काम गर्ने हो भने धेरै गर्न सकिन्छ । विदेशमा गएर गर्ने मेहनत नेपालमा गर्दा पनि राम्रो गर्न सकिन्छ । विदेशमा भन्दा पनि स्वदेशमा केही गर्न नेपाली दाजुभाइहरूलाई मेरो सुझाव छ । मैले पनि यो व्यवसायको सुरुवात गर्दा धेरै कठिन संघर्ष गरेको छु । त्यसपछि प्रेसिडेन्ट सेकुवा एण्ड फेमली रेष्टुरेन्ट खोल्ने अवस्थासम्म आइपुगेको हुँ ।















प्रतिक्रिया