काठमाडौँ, १ जेठ । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा संलग्नलाई व्यक्तिगत जानकारी (केवाइसी) अद्यावधिक गर्न दिएको निर्देशन कडाईका साथ कार्यान्वयन भए पनि मंगलबार शेयर बजारमा सामान्य प्रभाव परेको छ ।
शेयर बजारको मापक नेप्से परिसूचक मात्रै नभई कारोबारमा समेत कमी आएको छ । बोर्डको निर्देशनानुसार शेयर दलालहरुले कारोबारकर्ताको विवरणमा कडाई गरेका कारण बजारमा कारोबार घटेको हो । नेपाल स्टक एक्सचेन्जकाअनुसार निरन्तर घट्दै आएको बजार मंगलबार पनि चार दशमलव ३२ बिन्दुले ओरालो लागेर एक हजार ३३३ दशमलव ८५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत घटेको छ ।
मंगलबार कूल १४३ कम्पनीको तीन लाख १९ हजार २६० कित्ता शेयर रु १४ करोड ९२ लाख ३९ हजार ९५५ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । विभिन्न दश उपसमूह मध्ये दुई उपसमूहको शेयर बढेको छ भने आठ उपसूचकको शेयर ओरालो लागेको छ । व्यापार समूह पाँच दशमलव ४९ र उत्पादन समूह २८ दशमलव १६ बिन्दु बढ्दा बैंकिङ चार दशमलव २८, होटल ३२ दशमलव ९५, विकास बैंक १० दशमलव ९६, जलविद्युत् १३ दशमलव १४, फाइनान्स एक दशमलव ३३, बीमा १२ दशमलव ७६, अन्य शुन्य दशमलव ५३ र माइक्रोफाइनान्स समूह पाँच दशमलव ६२ बिन्दुले ओरोलो लागेको छ । –रासस















प्रतिक्रिया