१ कार्तिक २०८३, आइतबार

कालीगण्डकी नदीमा जलाशाययुक्त परियोजना गराउन माग

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, २९ वैशाख । कालीगण्डकी नदीमा जलाशाय युक्त परियोजना संचालन गराउनका लागि कालीगण्डकी आसपास क्षेत्रका स्थानीय तहहरुले माग गरेका छन् । प्रदेश नं. ४ अन्तर्गत पर्वत र बाग्लुङका साथै प्रदेश नं. ५ गुल्मीका स्थानीय तहहरुले संयुक्त रुपमा यस्तो आयोजना अगाडि बढाउन संघीय सरकारसँग माग गरेका हुन् ।

कालीगण्डकी नदीमा बाँध निर्माण गरी जलाशाययुक्त विद्युत परियोजना संचालन भएमा यस क्षेत्रको विकास तथा राष्ट्रिय समृद्धि हुने भएकाले राष्ट्रिय गौरबको योजनाका रुपमा अगाडी बढाउन स्थानीय पालिकाहरुले संयुक्त रुपमा माग गरेका छन् ।

पर्वत जिल्लाका कुस्मा नगरपालिका, फलेवास नगरपालिका साथै बिहादी गाउँपालिका, बाग्लुङका जैमीनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले सरकारसँग सो परियोजना संचालनका लागि माग गरेका हुन् ।

सो परियोजना संचालनका लागि माग सबै स्थानीय तहहरू एक भएर केन्द्र सरकारसँग जाने फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले बताए । ‘कालीगण्डकी नदीमा बाँध निर्माण गरि विद्युत परियोजना संचालन भएमा जल मार्ग, पर्यटन र रोजगारीको विकासमा सहयोग पुग्छ’, उनले भने, ‘यस्ता परियोजनाले राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्छ ।’

सो बहुद्देश्यीय परियोजना संचालन भएमा ४ नम्बर प्रदेश र ५ नम्बर प्रदेशका समेत केही पालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने भएकाले यस्तो अभियानमा लागेको बाग्लुङको जैमीनी नगरपालिकाका प्रमुख ईन्द्रप्रसाद पौडेलले बताए ।

विज्ञहरूका रायका आधारमा यस्तो अभियान थालिएको र यो परियोजना संचालन ल्याउन सकेमा १ हजार मेगावाट विद्युत समेत उत्पादन हुने विज्ञहरुको राय रहेको फलेवास नगरपालिकाका प्रमुख शर्माले बताए ।

कालीगण्डकी नदी वारीपारीका पालिकाहरुका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरु सम्मिलित अन्तरपालिका स्तरीय बैठकले पर्वत, बाग्लुङ तथा गुल्मीको बीचबाट बग्ने कालीगण्डकीलाई उपयोग गरि साझा र बृहत आयोजनाको रुपमा कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको निमार्ण र संचालनको लागि बृहत सम्भाभ्यता अध्यायन गर्न सरोकारवालको खोजि गर्ने समेत निर्णय गरेको छ ।

सबै पालिकाहरुको साझा योजनाको रुपमा कालीगण्डकी नदीमा जलाशाययुक्त बृहत परियोजना संचालन गर्नका लागि दाताहरुको खोजी गर्ने तथा लगानीकर्ताहरुको खोजी गरि सरकारलाई समेत राष्टिय आयोजनाको रुपमा अगाडी बढाउन आग्रह गर्ने निर्णय भएको छ ।

एकै ठाउँबाट ठूलो परिमाणमा बिजुली उत्पादन गर्न सकेमा देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने भन्दै आयोजना संचालनका लागि सबै पालिकाहरु समन्वयात्मक ढंगले अगाडी बढाउने बैठकले निर्णय गरेको छ । साथै बैठकले कालीगण्डकी आसपास क्षेत्रका जनताहरुको अयआर्जन बृद्धि गर्न नदिको उपयोग गरि यसै क्षेत्रका नगरिकहरुको लगानीलार्य सदुपयोग गर्दै सवै पालिकाहरुलाई सम्बृद्धिको पथमा अघि बढाउन सहयोग पुग्ने जनाइएको छ ।

बैठकमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यस्ता आयोजना संचालन गर्दा ४ नम्बर प्रदेशको नै संमृद्धीमा सहयोग पुग्ने भएकाले यसमा प्रदेश र संघीय सरकारको बिशेष ध्यान पुग्ने अपेक्षा गरे । बैठकमा बिहादी गाउँपालिकाका प्रमुख कमल भुसाल, कालीगण्डकी गाउँ कार्यपालिकाका सदस्य थमनसिंह आले कुस्मा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सुवास लामिछाने, फलेवास नगरपालिकाका उप प्रमुख मन्जु अधिकारी लगायतको उपस्थिति रहेको थियो ।