लण्डन, २८ वैशाख । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वेष्ट ह्याम युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो ।
वेष्ट ह्यामको मैदानमा भएको खेलमा पाएको मौका सदुपयो गर्न नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । बल पोजिसनमा पकड बनाएपनि युनाइटेडको लागि वेष्ट ह्यामका गोलकिपर एड्रियन बाधक बनेका थिए । युनाइटेडको आधा दर्जन उत्कृष्ट प्रहार एड्रियनले बचाएका थिए । घरेलु टोलीले पनि केही गोलको अवसर खेर फालेको थियो ।
वेष्ट ह्यामसँग बराबरीमा रोकिएपनि युनाइटेडले यो सिजन दोस्रो स्थान पक्का गरेको छ । योसँगै युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान समेत पक्का गरेको छ । युनाइटेडले सन् २०१२ – १३ को सिजनपछि पहिलोपटक सबैभन्दा उच्च स्थान ओगटेको हो । सन् २०१२ – १३ को सिजन युनाइटेडले प्रिमियर लिगको उपाधि जितेको थियो ।
बराबरीपछि दोस्रो स्थानको युनाइटेडले ३७ खेलबाट ७८ अंक जोडेको छ । लिगमा एक खेल बाँकी रहदा युनाइटेड तेस्रो स्थानको टोटनह्यामभन्दा ४ अंकले अघि छ । टोटनह्यामले ७४ अंक जोडेको छ । लिगमा ३९ अंक जोडेर वेष्ट ह्याम १५ औं स्थानमा छ ।
प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितिसकेको छ । पाँच खेल अगावै उपाधि जितेको शीर्ष स्थानको सिटीको ९७ अंक रहेको छ । यस्तै चौथो स्थानको लिभरपुलको ७२ तथा पाँचौ स्थानको चेल्सीको ७० अंक रहेको छ । – एजेन्सी















प्रतिक्रिया