१३ कार्तिक २०८३, शुक्रबार

मोदीले नेपालका सुरक्षा निकायलाई किन अविश्वास गरे ?

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजकीय भ्रमणलाई लिएर नेपालका सुरक्षा निकायप्रति अविश्वास गरेका छन् ।

मोदीले आफ्नो सुरक्षादेखि नेपालमा चढ्ने गाडी सबै भारतबाट पठाएर नेपाल सरकार र सुरक्षा निकायहरूप्रति ठूलो अविश्वास गरेका हुन् । जसका कारण प्रधानमन्त्री केपी ओली निरीह जस्तै बनेको आरोप छ । यूनाइडेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

मोदीले नेपालका सुरक्षा निकाय र सरकारलाई कति अविश्वास गरेका छन् भन्ने कुरा उनले नेपाल पठाएका भारतीय सुरक्षाकर्मीहरूको संख्याले देखाएको छ ।

सोमबार र मंगलबार गरी भारतबाट ८६ जनाको कमाण्डो टोली नेपाल आइसकेको छ । उक्त टोलीले मोदी आउने जनकपुर, काठमाडौं र मुस्ताङको सुरक्षा व्यवस्था अनुगमन गरिरहे पनि नेपालको जासुसी संस्था राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले भने टोलीका गतिविधिप्रति गोप्य निगरानी गरी सूचना संकलन गर्न सकेको छैन । त्यस्तै भारतीय गुप्तचर संस्थाका उच्च अधिकारीहरु ठूलो संख्यामा नेपाल आएपनि राअवीले त्यसको पत्तो पाएको छैन । नेपालको जासुसी संयन्त्र नै कमजोर बनेको विश्लेषण हुन थालेको छ ।

बाहिर हेर्दा भारतबाट आएको कमाण्डो टोलीले सुरक्षाको रेकी गर्ने जनाइए पनि भित्री रुपमा भने उनीहरुले नै सुरक्षको प्रवन्ध मिलाउने नाममा हस्तक्षेप गरिरहेको टिप्पणी हुन थालेको छ । भारतमा सन् १९८४ मा स्थापना भएको नेशनल सेक्युरिटी गार्ड (एनएसजी)लाई आफ्नो सुरक्षाका लागि मोदीले नेपाल पठाएका छन् ।

मोदी नेपाल आउँदै छन् र उनको सुरक्षा थ्रेट चुनौतीपूर्ण छ भन्ने कुरामा नेपाली सुरक्षाकर्मीहरू सचेत छन् । नेपाली सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग आफैमा सक्ष्म निकाय हुन् । उनीहरू दिलोज्यान लगाएर मोदीको सुरक्षामा खटिएका छन् । तैपनि मोदीले ओली सरकारप्रति गरेको अविश्वासले धेरैलाई चिन्तित तुल्याइदिएको छ ।

नेपाल प्रहरीका एक उच्च अधिकारी भारतले नेपालमा पठाएका यति धेरै सुरक्षाकर्मीप्रति आश्चर्य प्रकट गर्छन् । उनले भारतीय पक्षबाट नेपाली सुरक्षाकर्मीमाथि गरेको अविश्वासको भत्र्सना गरेका छन् । मोदी वैशाख २८ गते जनकपुरधाम आएर काठमाडौं, मुक्तिनाथ हुँदै नयाँ दिल्ली फिर्ता हुनेछन् ।

भारतीय सुरक्षाकर्मीले नेपाली सेनासँग सहकार्य गरी छुट्टै घेरामा रहेर मोदीलाई सुरक्षा दिने चर्चा बाहिर आएता पनि मोदीको मोटरमा नेपाली सेनाका सुरक्षाकर्मी (पिएसओ) बाहेक अन्य अह्रनखटनमा बिगतमा झैं भारतीयहरू नै हावी हुने निश्चित छ । नेपाली सुरक्षाकर्मी निडर, अब्बल र विश्वस्नीय छन् । विदेशीहरूले पनि यो सत्यलाई स्वीकारेका छन् । तर, आन्तरिक सुरक्षाको सम्पूर्ण गतिबिधिसँग परिचित र आवश्यक परेका बेला जुध्न सक्ने ल्याकत राख्ने नेपाली सुरक्षाकर्मीको क्षमता र दक्षता भारतसामु जहिले पनि ओझेलमा रहेको भनेर आलोचना भएको छ । प्रहरीका ति उच्च अधिकारी भन्छन्–‘हामीले आफ्नो क्षमता, सरोकार र सार्वभौम हैसियतप्रति अब पनि बोल्ने हिम्मत गर्ने कि नगर्ने ?’

मोदीलाई भारतीय स्पेसल टास्को फोर्सले नै सुरक्षा दिनेछ । कालो पोशाक र कालो बिरालो अंकित आर्म व्याचका कारण यसमा कार्यरत कमाण्डोलाई ब्लाक क्याट भनिन्छ । यस्तो समूहबाट चौबीसै घण्टा घेरिएर बस्ने मोदीले आफ्नै सुरक्षाकर्मीको घेरा मन पराउनु स्वाभाविक हो । तर, उनले विदेशी भूमिको सार्वभौम मर्यादाको पनि हेक्का राख्नु पर्दथ्यो ।

भिभिआइपी चढ्ने सवारी कारकेड पनि नेपाली सुरक्षाकर्मीको अह्रनखटनमा विगतमा नचलेको इतिहास छ । २०७१ साउन १८ र २०७१ मंसिर १०–११ गते भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा पनि भारतीय पक्षले नेपाली सुरक्षाकर्मीको मानमर्दनको व्यवहार गरेको आरोप लागेको थियो । त्यो समय मोदीको सुरक्षा र सवारी कारकेडमा भारतीय सुरक्षाकर्मीको नाजायज हस्तक्षेपको नेपाली सुरक्षाकर्मीहरूले विरोध समेत गरेका थिए ।

नेपालले तयार पारेको ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि निर्देशिकाले’ नेपाल भ्रमण गर्ने कुनैपनि भिभिआइपीको सुरक्षा बन्दोवस्तीलाई संबोधन गर्ने ल्याकत राख्छ । तर यसप्रति भारतीय सरकार बिशेष गरी ब्युरोक्र्याटस्को नेपाललाई हेर्ने दृष्टिकोणमा कहिले परिवर्तन आउला भनेर आलोचना भइरहेको छ ।