–बेलिना थापा
लमजुङ, २३ बैशाख । सार्क भिलेज घलेगाउँमा आइतबारबाट १९ औं घलेगाउँ महोत्सव सुरु भएको छ । गुरुङ जातिको उद्गमस्थल क्व्होलासोंथरलाई चिनाउनका लागि क्व्होलासोंथर गाउँपालिका ३ मा पर्ने घलेगाउँमा सुरु भएको महोत्सवको आइतबार रक्षामन्त्री इश्वर पोखरेलले उद्घाटन गरेका हुन् ।
रक्षामन्त्री इश्वर पोखरेलले पर्यटन विकासका लागि केन्द्रिय सरकारले कुनै कसर बाँकी नराख्ने बताए । रक्षामन्त्री पोखरेलले आइतबार सार्क भिलेज घलेगाउँमा १९ औँ घलेगाउँ महोत्सवको उद्घाटन गर्दै सो कुरा व्यक्त गरे ।
उनले घलेगाउँको पर्यटन विकास लागि केन्द्रीय तहको योजनामा पर्ने कुनै विषय रहेको छ भने त्यो केन्द्रले पुरा गर्ने बताए । घलेगाउँले सुन्दरताको प्रतिनिधित्व गरेको भन्दै सुन्दर बुट्टा को नाम दिँदै यसको रक्षा गर्नुपर्ने बताए । पर्यटन प्रवर्द्धनका लागि लागि परेको घलेगाउँको पहिचान, जोगाउन अथक ढंगले लाग्नुपर्ने बताउनुभयो । रक्षामन्त्री पोखरेलले पर्यटन विकासलाई रोजगारी, स्थानीय उत्पादन र आर्थिक क्रियाकलपासँग गाँस्दै जनताको जीवनस्तर माथि उठाउनतर्फ लाग्नुपर्ने बताए ।
उनले घलेगाउँलाई दक्षिण एसियामा मात्र नभएर विश्वमै चिनाउने हो भने आफ्नो पहिचानलाई रोजगारी, उत्पादन, समृद्धिसँग जोड्नेखालका गतिविधि गर्न सुझाव दिनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्य थापा, संविधान सभा सदस्यहरु जमीन्द्रमान घले, डा. भीष्मनाथ अधिकारी लगायतले पर्यटन विकासले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । महोत्सव बैशाख २५ गतेसम्म संचालन हुने पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए ।
बैशाख २५ गतेसम्म सञ्चालन हुने महोत्सवमा परम्परागत गुरुङ संस्कृति (घाँटु, सोरठी, सेर्का, घ्याब्रे, कृष्णचरित्र लगायत) प्रदर्शन, गुरुङ खाना महोत्सव, मनोरम प्राकृतिक दृश्यालोकन, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति राखिएको छ । पौराणिक हस्तकला सामाग्री प्रर्दशनी, स्थानीय कृषि उपजको प्रर्दशनी, हिमाल दृश्यवलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, वेटानिकाल गार्डेन, अर्गानिक खेती, चिया बगानको अवलोकन गर्न सकिने घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष एवं क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घलेले बताए । यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोज साँस्कृतिक प्रस्तुती रहनेछ ।
२०५६ देखि ग्रामीण पर्यटीय गाउँको अवधारणबाट अघि बढेको घलेगाउँमा २०५७ देखि महोत्सव थालिएको हो । १ सय २० घर रहेको घलेगाउँमा हाल ३२ घरमा होमस्टे छ । गतवर्षबाट दलित समुदायका २ घरमा होमस्टे सञ्चालन गरिएको छ । घलेगाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।












प्रतिक्रिया