२ कार्तिक २०८३, सोमबार

मेरो कार्यकालमा ‘म्याच फिक्सिङ’ हुँदैन र हुन दिन्नः एन्फा अध्यक्ष शेर्पा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको बताएका छन् । उनले भने, ‘म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ ।’

उनले अनुशासन कमिटी र एपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतोहरु रोक्ने विश्वास समेत दिलाएका छन् । उनले भने, ‘हामी सबै खेलाडीहरुको गतिविधि नियाल्छौं, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् ? त्यसको विषयमा पनि जानकारी लिन्छौं ।’

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले पछिल्लो समय फुटबलमा ‘म्याच फिक्सिङ’ गरेको आरोप लागेको बताउँदै भने, ‘फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्छ, हामी अब त्यसैमा केन्द्रित हुन्छौं, यसका लागि विज्ञहरुसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौं ।’ एन्फामा देखिएको अनियमितता रोक्नको लागि आर्थिक नियामावली जारी गरेर पारदर्शीता कायम गर्ने उनको भनाई थियो ।

अहिले म्याच फिक्सिङ रोक्नको लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको उल्लेख गर्दै उनले भने, ‘त्यो सफ्टवेयर मार्फत नेचुरल र अननेचुरल गेम पत्तालगाउन सकिन्छ, त्यो प्रविधिमार्फत पनि हामी अघि बढ्छौं ।’

अध्यक्ष शेर्पाले फूटबल प्रशासनलाई आईटीमा लैजाने पनि विश्वास दिलाए । उनले भने,‘क्लब दर्तादेखि लिएर खेलाडीहरुको दर्ता पनि अब अनलाइनबाटै गर्छौं, र खेलाडीहरुले क्लब परिवर्तन गर्दा पनि अब अनलाईनबाटै गर्नसक्ने व्यवस्था हामी गर्छौं ।’

तल्लो स्तरसम्मै खेलको वातावरण निर्माण गर्नको लागि भोलि बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने अध्यक्ष शेर्पाले जानकारी दिए ।