१ कार्तिक २०८३, आइतबार

घाँस न पात तर गाईबाट आम्दानी हुन्छ मासिक एक लाख

8.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर : हरि बाँस्तोला/रासस

–हरि बाँस्तोला 
पोखरा, २३ वैशाख । झट्ट सुन्दा जो कोहीलाई पनि अचम्म लाग्छ की घाँस, कुडोलगायत केही पनि खुवाउन नपर्ने र भकारो समेत सोर्न नपर्ने गाईबाट मासिक रु एक लाख आम्दानी हुने गरेको छ ।

यहाँको मुख्य पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा रहेको यन्त्रजडित गाईबाट मासिक रु एक लाख आम्दानी हुँदै आएको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको गुप्तेश्वर गुफामा राखिएको यान्त्रिक गाई गुफाको निरन्तर राम्रो आम्दानीको स्रोत बन्दै आएको हो ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार कामधेनु गाईगोठमा अवस्थित यन्त्र जडित गाईको नजिकै रहेको सानो प्वालमा गुच्चा राखेपछि चारवटै थुनबाट दूध आउने र सो दूध सिधैँ शिवलिङ्गमा चढाउने व्यवस्था गरिएका कारण गाई गुफाको थप आम्दानीको स्रोत बनेको हो । गुफाको प्रदेशद्वारमै रहेको कामधेनु गाई गोठमा रहेको प्वालमा गुच्चा राख्न चाहने प्रत्येक दर्शकले प्रति गुच्चा रु १० मा खरिद गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । विसं २०६४ मा रु एक लाख ५७ हजार १९८ खर्चेर निर्माण गरिएको सो गाईले १० वर्षको अवधिमा रु ६१ लाख ९४ हजार ९१०आम्दानी गरेको उहाँ बताउनुहुन्छ ।

दश वर्षको अवधिमा लगभग रु छ लाख १९ हजार ४९१ जनाले टिकट काटेर गाईको दर्शन र प्रविधिको अध्ययन अवलोकन गर्ने क्रमसँगै उक्त यान्त्रिक गाई गुफाको आम्दानीको स्रोत बनेको हो ।

स्थापनाको पहिलो वर्षमै रु एक लाख ७५ हजार ९९०, दोस्रो वर्षमा रु दुई लाख २१ हजार ४१०, तेस्रो वर्षमा रु दुई लाख ७१ हजार ११०, चौँथो वर्षमा रु चार लाख ९१ हजार ४८०, पाँचौँ वर्षमा रु पाँच लाख ५९ हजार २००, छैटौं वर्षमा रु छ लाख ३८ हाजर २२०, सातौँ वर्षमा रु सात लाख ४२ हजार ९३०, आठौँ वर्षमा रु सात लाख २३ हजार २५०, नवौं वर्षमा रु पाँच लाख १८ हजार १०० र यसवर्ष रु ११ लाख ६९ हजार ४९० आम्दानी भएको छ ।

गुफा अवलोकनका लागि व्यवस्था गरिएका विभिन्न पाँच प्रकारका टिकट काटेर गुफामा प्रवेश गर्दा आर्थिक वर्ष २०७३/७४ मा कूल दुई रु करोड २० लाख ९९ हजार १३५ आम्दानी भएको गुफा व्यवस्थापन समितिका कोषाध्यक्ष ऋषिराम बरालको भनाइ छ । कामधेनु गाईको लागि भने भित्र प्रवेश गरेपछि छुट्टै टिकटको व्यवस्था गरिएको छ । उहाँका अनुसार टिकट बिक्री एवं यान्त्रिक गाईका अलावा गुफाले दानपात्रबाट रु १२ लाख ११ हजार ९८७, सहयोग रसिदबाट रु ४९ हजार ६०९, सदस्यता रसिदबाट रु २८ हजार, विविध आम्दानी रु ३१ हजार ७०, बैंक ब्याजबाट रु १० लाख ३६ हजार २१४ गरी कूल दुई करोड ५६ लाख २५ हजार ४९६ आम्दानी गरेको छ ।

गुफामा स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थीको आकर्षण दिन प्रतिदिन बढ्दै गएको भए पनि विशेष गरेर धार्मिक परम्परा अनुसारका साउन महिनाको सोमबार, शिवरात्रि, मङ्गलचौंथी, हरिबोधनी एकादशी, ऋषि तर्पणी, ऋषि पञ्चमी, बालाचतुर्दशी लगायतका विभिन्न पर्वमा दर्शनार्थीको घुइँचो लाग्ने हुँदा गाईको समेत आम्दानी बढी हुने गरेको गुफा व्यवस्थापन समितिका सचिव देवीबहादुर थापा जानकारी दिनुहुन्छ ।

“परिसरको प्राकृतिक स्वरुप र सौन्दर्यलाई कायम राख्दै गुफाको प्रवेशद्वार बाहिरको भागमा निर्माण गरिएका सिँढी र विभिन्न देवदेवताका मूर्तिले गुफाको आकर्षण बढाएको छ”, उहाँ भन्नुहुन्छ । गुफाको मन्दिरदेखि पातले छाँगोको दृश्यावलोकन गर्ने स्थानसम्म लगभग ६५ मिटर टनेल रु एक करोड सात लाखको लागतमा निर्माण अन्तिम चरणमा पुगेको छ । गुफामाथि बढ्दो सवारी साधन र भौतिक संरचनाका कारण सम्भावित जोखिमी रोक्न टनेल निर्माण गरिएको हो । टनेल निर्माणसँगै गुफाको संरक्षण र दर्शनार्थी सुरक्षित हुने विश्वास लिइएको छ ।

गुप्तेश्वर गुफा मन्दिरसम्म जान सर्वसाधारणलाई रु ३५ र विद्यार्थीलाई रु २५ तथा विदेशीका लागि रु ५० निर्धारण गरिएको छ । त्यस्तै मन्दिरबाट अझभित्र टनेल हुँदै पातले छाँगो दृश्यावलोकन गर्नका लागि विदेशीलाई रु १०० र नेपालीलाई रु ५० तथा विद्यार्थीलाई रु ३५ को टिकट दस्तुर तोकिएको गुप्तेश्वर गुफा व्यवस्थापन कार्यालय प्रमुख नारायण पौडेल बताउनुहुन्छ । उहाँका अनुसार गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस समेत सञ्चालन गरिएकोछ । जुन क्याम्पसमा अध्ययनरत छात्रको तुलनामा छात्राको संख्या निकै बढी छ । –रासस