१ कार्तिक २०८३, आइतबार

खरायो पालेर मासिक २० हजार कमाई

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरेन्द्र भण्डारी 

झापा, २३ वैशाख । उच्च कुलघरानका मानिसले सोखका लागि पाल्दै आएको खरायो आयआर्जनको गतिलो माध्यम बन्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर झापाको अर्जुनधारा–२ झेलेनीका कवीन्द्र भण्डारीले खरायोलाई आयआर्जनको दरिलो माध्यम बनाउनु भएको छ ।

भण्डारीले अहिले व्यावसायिक खरायोपालन गरेर आम्दानी गरिरहनुभएको छ । दश वर्षसम्म वैदेशिक रोजगारीमा दुबईमा रहँदा खासै कमाई गर्न नसकेपछि स्वदेश फर्कनुभएका भण्डारीले खरायोपालनका लागि शुरुमा रु ५१ हजार लगानी गर्नुभयो । चारवटा पोथी र एउटा भाले खरायो किनेर पाल्न शुरु गर्नुभएका भण्डारीको घरमा अहिले ७० वटा खरायो छन् ।

नेपालको अधिकांश पहाडी भू–भागमा पाइने खरायो चारखुट्टे स्तनधारी जनावर हो । जंगलमा घुस्यानहरु जम्मा गरी स–साना वडार तथा बुट्यानमा न्यानो गँुड बनाएर आफ्नो सन्तान वृद्धि गर्ने यो जनावर विशेषगरी दुबो, किम्बू, भटमास, जौ, सखरखण्ड, गहँु, सिमी तथा डाले घाँस खान रुचाउँछ । विशेषगरी उलन, सोख तथा मासुका लागि पालिने खरायो प्रयोजनअनुसार जात पनि फरक–फरक हुने गरेको पाइन्छ । नेपालमा मासुका लागि विशेषगरी सोवियत चिचिल्ला, ह्वाइट न्युजरल्याण्ड र क्यालिफोर्निया जातका खरायोहरु पालिने गरेको पाइन्छ । यी प्रजातिका खरायो वयस्क हुँदा २.५ देखि ४ किलोसम्म तौल हुने गर्दछ ।

व्यावसायिक रुपमा पालिएको खरायोले प्रत्येक दुई–दुई महिनामा बच्चा जन्माउने गरेका छन् । “एउटा माउ खरायोले एक पटकमा ११ वटासम्म बच्चा जन्माउने गर्दछ”, भण्डारीले भन्नुभयो, “मेरोमा पालेका खरायोले पनि आठ वटासम्म बच्चा जन्मायो, एक महिनासम्म माउले दूध खुवाएर हुर्काउँछ अनि माउबाट छुट्याएर घाँस खुवाएर व्यवस्थित खोरमा ती बच्चा राखिन्छ । यसरी हुर्काएको खरायो ६ महिनामा मासुका लागि उपयुक्त मानिन्छ ।”

भण्डारीले ह्वाइट न्युजरल्याण्ड र क्यालिफोर्निया प्रजातिका खरायोपालन गरिरहनुभएको छ । खरायोपालन व्यवसायबाट अहिले उहाँले मासिक रु २० हजारभन्दा आम्दानी गरिरहनुभएको छ । एउटा खरायो न्यूनतम रु दुई हजार ५०० मा बिक्री हुने गरेको भण्डारीले बताउनुभयो । भालेको मूल्य कम परे पनि पोथीको मूल्य भने धेरै हुन्छ । उहाँले भन्नुभयो, “मैले यो महिना मात्र ५० हजार रुपैयाँको खरायो बेचिसकेँ ।”

“विदेशमा श्रम र पसिना बगाउनुभन्दा स्वदेशमै व्यावसायिक रुपमा कुनै काम गर्नु उत्तम रहेछ”, भण्डारीले भन्नुभयो, “मैले विदेशमा गरेको दुःख सम्झेर यहाँ खरायो पाल्न शुरु गरेको हुँ ।” व्यावसायिक रुपमा खरायोपालन गर्ने भण्डारी अर्जुनधाराका पहिलो खरायोपालक कृषक हुनुहुन्छ ।

खरायोको मासुको माग अधिक रहेकाले फर्म दर्ता गरेर नयाँ–नयाँ प्रजातिका खरायो पाल्ने सोच रहेको उहाँको भनाइ छ । थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने भएपछि भण्डारीको खरायोपालन व्यवसाय हेर्नेको दिनहुँ अहिले भीड लाग्ने गरेको छ ।

शनिश्चरेका कृषक ज्योति रिजाल र गरामनीका कृषक डिल्ली दाहालले पनि खरायो पाल्न शुरु गरेको भण्डारीले बताउनुभयो । भण्डारीले उत्पादन गरेका खरायो अहिले इटहरीमा रहेको खरायो संकलन केन्द्रमा जाने गरेको छ । – रासस