३० आश्विन २०८३, शुक्रबार

पाकिस्तानी निर्वाचन ‘एलियन’द्वारा गराइने छ : प्रधानमन्त्री अब्बासी

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाकिस्तान, २२ वैशाख । पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीले पाकिस्तानमा हुन गइराखेको आम निर्वाचन ‘एलियन’ शक्तिबाट गराइने बताएका छन् ।

पाकिस्तानी डन न्यूजले प्रधानमन्त्री अब्बासीको शब्दलाई उद्धृत गर्दै भनेको छ, “पाकिस्तानको निर्वाचन आयोगले प्रधानमन्त्रीलाई ‘गैरजिम्मेवार भनाइहरू’ नदिन कडा दवाव दिएपछि प्रधानमन्त्रीले निर्वाचन ‘एलियन’ ले गराउने बताएका छन् ।” पाकिस्तानी निर्वाचन प्रक्रियालाई लिएर पाकिस्तानी अधिकारीबाट ‘एन्जेल’ र ‘अदृश्य शक्ति’ ले निर्वाचन गराउने भन्ने भनाइहरू यस अघि आएका भए पनि ‘एलियन’ द्वारा गराउने भन्ने भनाई नयाँ भएको डनले जनाएको छ ।

प्रधानमन्त्रीबाट आएको भनाइले निर्वाचन पारदर्शी नहुने सङ्केत सरकारले महशुस गरेको बुझ्न सकिन्छ । अब्बासीको ‘एलियनले निर्वाचन गर्दैछन्’ भन्ने भनाई भ्रष्टाचार आरोपपछि प्रधानमन्त्री रहन अयोग्य घोषणा गरिएका पूर्व प्रधानमन्त्री नवाज सरीफले दुई दिन पहिले व्यक्त गरेको भनाईसँग मिल्दोजुल्दो देखिएको छ । अब्बसीले भने, “हाम्रो प्रतिस्पर्धा पाकिस्तानी पिपुल्स पार्टी (पीपीपी) का सहअध्यक्ष असिफ अलि जर्दारी र पाकिस्तान तेहरीक–आई–इन्साफका अध्यक्ष इमरान खानसँग नभई एलियन्ससँग हुँदैछ ।”

“निर्वाचन विदेशी (एलियन) शक्तिले गराउने छ तर पनि पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन) ले सहभागीता जनाउने छ,” प्रधानमन्त्री अब्बासीले प्रतिनिधि सभाका सभामुख सरदार आयाज सद्दिकले पाकिस्तानी तल्लो सदनका सदस्यलाई दिएको स्वागत समारोहमा सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा बताए ।

यसैबीच पाकिस्तानको निर्वाचन आयोगका प्रवक्ता अल्ताफ खानले भने निर्वाचन आयोगलाई दिइएको आदेश अनुसार संविधानको धारा २१८ अन्तर्गत रहेको निर्वाचन ऐन २०१७ ले निर्दिष्ट कानून अनुसार गराइने बताए । उनले निर्वाचन आयोग आफ्ना कानूनी तथा संवैधानिक कर्तब्य पूरा गर्न पूर्णतया स्वतन्त्र रहेको बताए ।

तर तेहरीक–आई–इन्साफका अध्यक्ष खानले भने सरकारको मर्यादित पदमा रहेको व्यक्तिले यस किसिमको गैरजिम्मेवार भनाई राख्नु नहुने बताए । उनले भने, “सत्ताधारी दलबाट आएका यस्ता अफबाहले संविधानलाई खतरामा पार्न सक्छन् ।” –रासस/पिटीआई