२ कार्तिक २०८३, सोमबार

अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि नेपाली सेनालाई

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर : केदार मगर/रासस

खोटाङ, २२ वैशाख । खोटाङको दिक्तेलमा शनिबार सम्पन्न दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय सितोरियो कराँते प्रतियोगिताको उपाधि नेपाली सेनाले चुमेको छ । प्रतियोगिताको शुरुदेखि नै अग्रता कायम गरेको नेपाली सेनाले नौ स्वर्ण, पाँच रजत र दुई कास्य पदकसहित उपाधिमाथि कब्जा जमाएको हो ।

नेपाल सितोरियो कराँते संघ खोटाङको आयोजनामा दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भएको प्रतियोगितामा पाहुना टोली भारतले दुई स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ । तीन दिवसीय प्रतियोगितामा एक कास्य पदकसहित पाहुना टोली श्रीलंकाले तेस्रो स्थान प्राप्त गरेको निर्णायक टोलीका संयोजक राजेन्द्र कपालीले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालका तर्फबाट नेपाली सेनाले पुरुष कुमितेतर्फ ४० केजी समूहमा स्वर्णीम मानन्धर, ४५ केजी समूहमा साजन मोक्तान, ४० केजी महिला कुमितेमा बुद्धलक्ष्मी तामाङ, ६१ केजी समूहमा सम्झना घिसिङ, ६७ केजी समूहमा विभूषा थापा, एकल काँतातर्फ डम्बर आलेमगर तथा महिला र पुरुष टिम काँतामा स्वर्ण पदक जितेका छन् ।

यस्तै, भारतका लागि महिला एकलकाँतामा भन्सिका तन्वार र ५० केजी कुमितेमा अर्पणा चाहानले स्वर्ण जितेकी हुन् । श्रीलंकाका लागि कुमिते ६० केजी तौल समूहमा आरएनआइजी पाथारभाकलेले एकमात्र कास्य पदक दिलाएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः रु ७० हजार, रु ३५ हजार र रु २५ हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजक नेपाल सितोरियो कराँते संघका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।

प्रतियोगिताका विजेता टोलीलाई प्रदेशसभा सदस्य हिरा गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, निर्णायक टोलीका संयोजक राजेन्द्र कपालीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टोली प्रशिक्षक, उत्कृष्ट टोली व्यवस्थापक, उदीयमान खेलाडीलगायतलाई पनि नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

जिल्लामा दोस्रोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन भएपछि दिक्तेलबजार बिहीबारदेखि खेलकूदमय बनेको थियो । कराँते प्रतियोगितामा श्रीलंका, भारत, नेपाली सेना, १ नं प्रदेश, २ नं प्रदेश, ३ नं प्रदेश, ४ नं प्रदेश, ६ नं प्रदेश र आयोजकसहित नौ टोलीको प्रतिष्पर्धा भएको आयोजकले जनाएको छ ।

खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले चन्दा उठाएरै प्रथम संस्करण सञ्चालन गरेको संघले सोहीअनुसार दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न जातजातिले सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरेका थिए । –रासस