२ कार्तिक २०८३, सोमबार

सुन डन गोरेले डीएसपी केसीलाई भनेका थिए– सिंगापुरमा भेटौंला !

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । तस्करीको ३३ किलो सुन प्रकरणका एक अभियुक्त सनम शाक्यको शव विराटनगरको पोखरियामा प्रहरीले पुराएको थियो । शाक्यको लासको अनुसन्धान हुँदै गर्दा महानगरीय अपराध महाशाखाका डीएसपी प्रजित केसीलाई हत्याका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेले फोन गरे ।

‘तिमि कहाँ छौ ? चाँडो आऊ, अझै केही कुरा विग्रिएको छैन । कुरा मिल्छ’, फोनमा डीएसपी केसीले गोरेलाई बोलाएपछि उसले भन्यो,‘ठिकै छ, सिंगापुरमा भेटौंला । त्यहिँ कुरा मिलाउनुपर्छ ।’

गृह मन्त्रालयको छानविन विशेष टोलीलाई बयान दिने क्रममा उक्त जानकारी अभियुक्त सई बालकृष्ण सञ्जेलले खुलाएका छन् । ‘निरन्तर गोरेसँग मेरो कुराकानी भइरहेको थियो । डिएसपी सरले मेरो सीमा आफ्नो मोबाइलमा हाल्नु भयो । गोरेले उहाँलाई कुराकानीमा सिंगापुरमा भेटौंला भनेको रहेछ’, बयानका क्रममा सञ्जेलले भनेका छन्,‘उसलाई पक्राउ गर्नुपर्छ भन्ने निर्णयमा हामी पुगेका थियौं ।’

सञ्जेलको बयानका क्रममा पटक–पटक गोरेसँग प्रहरीका अनुसन्धान अधिकारीहरूको मोवाइलमा कुराकानी भएको उल्लेख छ । शाक्यको लासलाई इटहरीमा नै ‘एक्स्पोज’को योजना बनाइए पनि महाशाखाका तत्कालिन प्रमुख एसएसपी दिवेश लोहनीले विराटनगर लैजान सुझाएको सञ्जेलले बयानमा उल्लेख गरेका छन् ।

‘इटहरीका डीएसपी सञ्जय राउतसँग गोरेको सम्बन्ध रहेको भन्ने सुनेपछि विराटनगरमा लास एक्स्पोज गर्ने आदेश दिवेश लोहनी सरले दिनु भएको रहेछ’, सञ्जेलले खुलाएका छन् ।

सुन प्रकरण र शाक्य हत्याका मुख्य अभियुक्त गोरेसहित ३४ अन्य अभियुक्त फरार छन् । पक्राउ गरिएका २९ न्यायीक हिरासतमा मोरङमा छन् ।

मोरङ जिल्ला अदालतले विहीबारबाट बयान लिन थालेको छ । ६ जनाको बयान विहीबार नसकिएकाले आज पनि जारी रहेको बताइएको छ ।

जिल्ला अदालतका अनुसार सोमबारसम्ममा नियन्त्रणमा रहेका २९ जनाको बयान सक्ने लक्ष्य राखिएको छ । तर, घटना निक्कै गहिरो रहेका कारणले समयसीमामा बयान नसकिने देखिन्छ ।