२२ कार्तिक २०८३, आइतबार

नीजि विद्यालयको शुल्क वृद्धि फिर्ता हुँदैन: प्यावसन अध्यक्ष साम्वाहाम्फे

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० बैशाख । प्यावसन अध्यक्ष विजय साम्वाहाम्फेले सरकारी नियम र शिक्षासम्बन्धी सम्पूर्ण निर्देशिकाको पूर्ण पालना गरेको भन्दै नीजि विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नहुने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष साम्वाहाम्फेले नियम नीतिकै आधारमा नीजि विद्यालयले शुल्क बृद्धि गरेको स्पष्ट पारेका हुन ।

उनले भने, ‘हामीले नियम र नीति मानेका छौं, हाम्रा स्कुलले सरकारी नीति तथा निर्देशिकाको पूर्ण पालना गरेका छन्, विद्यार्थीहरुले आन्दोलन र ताला लगाएर समस्या समाधान हुन्छ भनेर नचिताए पनि हुन्छ, हामीले नियम मानेका छांै, निर्देशिका कार्यान्वयन गरेका छौं ।’

कार्यक्रममा नेविसंघका सभापति नैनसिंह महरले निजी विद्यालयलाई अराजक बनाउने काम सरकारले नै गरेको आरोप लगाएका छन् ।
उनले भने, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जलगैंडाजस्तो छ, बोल्नेमात्रै हो, काम भनेको केही पनि नगर्ने, यो गर्छ, उ गर्छ भन्छ मात्रै केही गर्दैन, नीजि विद्यालयले बढाएको शुल्क र शिक्षाका बारेमा ज्ञापनपत्र बुझाउनको लागि हामीले डेढ महिनादेखि समय मागिरहेका छौं तर, उहाँले भेटको लागि समय दिनुभएको छैन ।’

नीजि विद्यायल सञ्चालकहरुका पनि केही समस्या भएपनि उनीहरुले आफ्ना समस्या छन् भन्दैमा गरिबहरुको जीवनमाथि बज्रप्रहार गर्न नहुने उनको भनाई छ । उनले भने, ‘नीजि विद्यालयमा पढ्ने विद्यार्थीहरुका अभिभावक धनि छैनन्, दिनभरि काम गरेर बालबच्चा नीजिमा पढाईरहेका छन्, यस्तो स्थितिमा अनावश्यक मूल्य बढाएर हुन्छ ? हामीले तेस्रो चरणको आन्दोलन सार्वजनिक गरिसकेका छौँ, आगामी दिनमा जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने सरकारी कर्मचारीलाई असहयोग गर्नेजस्ता कार्यक्रम हुन्छन् ।’

त्यस्तै कार्यक्रममा एन–प्यावसनका महासचिव सुवास न्यौपानेले नीजि विद्यालयमा देखिएका समस्या ताला लगाएर समाधान नहुने स्पष्ट पारे । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नलिए निर्देशिका अनुसार सरकारले कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्यावसनका अध्यक्षले निर्देशिका पालना गरेको दाबी गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष तामाङले निजी विद्यालयले मनोमानी रुपमा शुल्कवृद्धि गरेको गम्भिर आरोप लगाए ।

कार्यक्रममा अभिभावक संघका अध्यक्ष केशव पुरीले नीजि विद्यालयले गर्ने निरन्तरको शुल्कवृद्धिले आफूहरु ठूलो मर्कामा परेको दुःखेसो पोखे ।