
काठमाडौं, २० वैशाख । नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बुधबार मध्यरातदेखि लागू हुने गरी बढेको छ ।
पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ तथा डिजल र मट्टितेलमा क्रमशः ३–३ रूपैयाँ मूल्य बढाइएको छ । यो मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोल प्रति लिटर १ सय ८ रूपैयाँ तथा डिजल र मट्टितेल प्रति लिटर ९० रूपैयाँ उपभोक्ताले तिर्नुपर्नेछ ।
केपी ओली नेतृत्वको सरकार आएपछि तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको हो । पछिल्लो पटक वैशाख ३ गते पेट्रोलमा एक रुपैयाँ र डिजल र मट्टितेलमा दुई रुपैयाँ प्रतिलिटर मूल्य बढाइएको थियो ।
ओली प्रधानमन्त्री नियुक्त भएको १६ दिनपछि पेट्रोलको भाउ प्रति लिटर दुई रुपैयाँ बढाएर प्रति लिटर १०५ रुपैयाँ बनाइएको थियो । त्यतिबेला डिजल र मट्टितेलको भाउ बढाइएको थिएन ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ९० पैसा नाफा र डिजल र मट्टितेलमा १ रूपैयाँ २२ पैसा घाटा छ । एलपीजी ग्यासमा ६४ रूपैयाँ २९ पैसा घाटा रहेको गोइतको भनाई छ । निगमको मासिक नाफा २१ करोड छ ।
अहिलेको मूल्य बढ्नुमा डलरको वृद्धि र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि प्रमुख कारण भएको निगमका कामु कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।















प्रतिक्रिया