२ कार्तिक २०८३, सोमबार

लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २० वैशाख । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

रोममा बुधबार राति भएको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा इटालियन क्लब रोमासँग ४–२ ले पराजित भएर पनि लिभरपुल समग्रमा ७–६ को जितसहित फाइनलमा स्थान बनाउन सफल भएको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा जर्गेन क्लोप्पको टिम लिभरपुल ५–२ ले विजयी भएको थियो । लिभरपुल पछिल्लो ११ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यसअघि सन् २००७ मा उसले फाइनल खेलेको थियो ।

क्वाटरफाइनलमा बार्सिलोनामाथि शानदार पुनरागमन गर्दै सेमिफाइनल यात्रा तय गरेको रोमाले बुधबार रातिको खेलमा पनि त्यस्तै पुनरागमन गर्ने शंकेत गरेको थियो । तर त्यो अन्तिममा आएर सफल हुन सकेन ।

घरेलु मैदानमा रोमाले दोस्रो लेगमा चार गोल गर्न सक्यो । तर लिभरपुललाई अवे गोल गर्न दिनु र पहिलो लेगमा धेरै गोल खाएकाले शानदार पुनरागमन सफल हुन सकेन ।

रोमाका लागि राड्जा नाइन्गोलानले दुई तथा इडेन डिजेकोले एक गोल गरे । लिभरपुलका जेम्स मिल्नरले आत्मघाती गोल गरे । अवे मैदानमा लिभरपुलका लागि साडिओ माने र जर्जिनिओ विज्नाल्डमले गोल गरे ।

नवौँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए । त्यसको ६ मिनेटपछि मिल्नरले बल आफ्नै पोस्टमा गोल प्रहार गरे र खेल १–१ को बराबरीमा गयो । तर २५ औँ मिनेटमा विज्नाल्डमले गोल गरेपछि क्लोप्पको टिम लिभरपुलले पहिलो हाफमा २–१ को अग्रता लियो ।

दोस्रो हाफमा भने घरेलु टोली रोमाले खेलमा फर्किने बलियो सम्भावना देखायो । उसले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । ५२ औँ मिनेटमा डिजेकोले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलको अन्तिम तिर र इन्जुरी समयमा नाइन्गोलानले गोल गरे । उनले ८६ औँ मिनेट र इन्जुरी समयको चौथो मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् ।

तर दोस्रो हाफमा गरेको तीन गोल र पहिलो हाफमा पाएको एउटा उपहार गोल लिभरपुललाई पहिलो हाफमा दर्ता गरेको शानदार जितका बाबजुद रोक्न सफल भएन । लिभरपुल समग्रमा ७–६ को जितसहित फाइनलमा पुग्न सफल भयो ।

मे २६ मा युक्रेनको किएभमा हुने फाइनल खेलमा लिभरपुलले उपाधिका लागि स्पेनिस क्लब तथा यसअघिका दुई सिजनको विजेता रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । रियल मड्रिड जर्मन क्लब बार्यन म्युनिखलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

लिभरपुल यसअघि फाइनलमा ११ वर्षअघि पुगेको थियो भने उसले च्याम्पियन्स लिगको उपाधि नै जितेको भने १३ वर्ष अघि हो । सन् २००५ मा उसले उपाधि उचालेको थियो ।

यो सिजन उसले रियल मड्रिडलाई पाखा लगाउँदै उपाधि उचालेमा त्यो क्लबको इतिहासमा छैटौँ उपाधि हुनेछ । युरोपियन कप वा च्याम्पियन्स लिगमा लिभरपुलले सन् १९७७, १९७८ र १९८१, १९८४ तथा २००५ मा उपाधि जितेको छ ।

यसपटकको च्याम्पियन्स लिग फाइनल ३७ वर्ष अघिको युरोपियन कपको फाइनलको पुनरावृत्ति जस्तो बन्ने भएको छ । त्यसबेला लिभरपुलले रियल मड्रिडलाई १–० ले हराएर उपाधि उचालेको थियो । – एजेन्सी