
सुर्खेत, १९ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि प्रदेश सरकारले विशेष कार्यक्रम संचालन गर्ने प्रतिवद्धता गरेका छन् ।
वुधवार प्रदेश मुख्यालयमा लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान, नेपाल कर्णाली प्रदेशको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मुख्यमन्त्री शाहीले लोपोन्मुख तथा सीमान्तकृत समुदायका आयआर्जन र रोजगारीका लागि प्रदेश सरकारले विशेष व्यवस्था गर्ने बताए ।
प्रदेश सरकारको सम्पूर्ण ध्यान कर्णालीको विकास र समृद्धिमा रहेको बताउँदै मुख्यमन्त्री शाहीले प्रदेशको समग्र समृद्धिको योजनामा लोपोन्मुख तथा सीमान्तकृत समुदाय उच्च प्राथमिकतामा रहने बताए ।
मुख्यमन्त्री शाहीले लोपोन्मुख तथा सीमान्तकृत समुदायमा पर्ने राजी समुदायको आयआर्जनका लागि होमस्टे संचालन गर्न प्रदेश सरकारले चालु आवमै १० वटा परम्परागत घर निर्माणका लागि अनुदानको व्यवस्था गर्ने बताए । परम्परागत संस्कृति झल्कने गरि होमस्टे संचालनको तयारी गर्न समेत मुख्यमन्त्री शाहीले लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थानको प्रतिनिधिमण्डललाई आग्रह गरे ।
मुख्यमन्त्री शाहीले सरकारले सहकारी, तथा समुहहरुसंग सहकार्य गरेर काम गर्ने नीति लिएको जानकारी दिदै लोपोन्मुख तथा सीमान्तकृत समुदायको सहकारी संचालन गर्न आग्रह गरे ।
सहकारी सम्बन्धी प्रदेश कानुन बन्न लागेको र सो कानुनमा सहकारी दर्ता तथा संचालनमा समेत सरकारले लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि विशेष व्यवस्था हुने मुख्यमन्त्री शाहीले बताए ।












प्रतिक्रिया