–शिशिर सिंखडा
चितवन, १९ बैशाख । प्रदेश नम्बर ३ का कृषिमन्त्री दावा दोर्जे लामाले चितवनका किसानको केरा काटेर नष्ट गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । चितवनका किसानले लगाएको ३ हजार बढि केराको बोट अज्ञात समूहले काटेर सखाप पारिदिएपछि सो क्षेत्रको बुधबार अवलोकन गर्दै मन्त्री लामाले किसानको केरा बगानमा आतंक मच्चाउनेलाई नछाडिने चेतावनी दिए ।
मानविय स्वभावभन्दा बाहिर गएर किसानमाथी अन्याय भएको मन्त्री लामाको भनाई छ । उनले प्रहरी प्रशासनलाई निर्देशन दिँदै भने, ‘निष्पक्ष ढंगले अनुसन्धान गरेर कारबाही गर्नुपर्यो । यसमा कसैको दबाब मान्य हुँदैन । आज केरा काट्नेले भोली अन्य बालि काट्ला, त्यस्तो समूह पर्सी मान्छेनै काट्न पछि पर्देन् ।’ मन्त्री लामाले थपे, ‘यस्तो बिधोम्स गर्नेलाई कुनै हालतमा छोडिदैन् ।’
मन्त्री लामाले किसानलाई नआत्तिन आग्रह गर्दै झन् बलियो मनोबलका साथ काम गर्न सुझाब दिए । प्रदेश सरकार सधैँ किसानको साथमा रहेकाले न्याय र क्षतिपूर्ति दिलाउन कुनै कसर बाँकी नराखिने उनले बताए ।
त्यस्तै कालिका नगरपालिकाका मेयर गोपी श्रेष्ठले जिल्लाको प्रहरी प्रशासनसँग समन्यव गरेर दोषीलाई पक्राउ गरेर कारबाही गर्न लागि परेको बताए । उनले बुुधबार नै नगर कार्यपालिकाको बैठक बसेर नगरपालिकाको तर्फबाट गर्न सकिने कामबारे निर्णय गरिने जानकारी दिए ।
चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले दोषीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न माग गरे । कालिका नगरपालिका ६ भटेनी नयाँ टोलमा स्थानिय १२ जना किसानले लगाएको केराखेती अज्ञात समूहले सोमबार राती नष्ट गरिदिएको हो ।
इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी बासुदेव खतिवडाले केरा नष्ट गर्न संलग्नको तिव्र रुपमा खोजी भैरहेको बताए । उनले किसानले दिएको सूचनाका आधारमा संलग्नहरुलाई छिट्टै नियन्त्रणमा लिएर कारबाही गरिने प्रतिबद्धता जनाए ।












प्रतिक्रिया