२ कार्तिक २०८३, सोमबार

रियल मड्रिड तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल प्रवेश

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १९ वैशाख । रियल मड्रिड लगातार तेस्रो सिजन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान बर्नाबेउमा मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बार्यन म्युनिखसँग २–२ को बराबरी भए पनि समग्रमा ४–३ को जितसहित रियल मड्रिडले फाइनलमा स्थान बनाएको हो । अवे मैदानमा भएको पहिलो लेगमा जिनेदिन जिदानको टिम रियल मड्रिड २–१ ले विजयी भएको थियो ।

बुण्डेस लिगा क्लब बार्यनलाई फाइनलमा स्थान बनाउनका लागि जित चाहिएको थियो तर उसले बराबरी मात्रै गर्न सक्यो । अवे मैदानमा भएको दोस्रो लेगमा बार्यनले सुरुको तेस्रो मिनेटमा नै गोल गर्दै खेलमा फर्किने संकेत गरेको थियो ।

तेस्रो मिनेटमा नै जोशुआ किमिचले गोल गर्दै बार्यनलाई सुरुवाति अग्रता दिलाए । त्यसको सात मिनेटपछि करिम बेन्जिमाले घरेलु टोली रियल मड्रिडका लागि बराबरी गोल फर्काएर पहिलो हाफमा खेल १–१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा पनि दुवै तर्फबाट १–१ गोल भयो । ४६ औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई अग्रता दिलाए । ६३ औँ मिनेतमा जेम्स रोड्रिग्वेजले बार्यनका लागि बराबरी गोल फर्काए पनि त्यो रियललाई रोक्न पर्याप्त भने भएन ।

बार्यनले खेलमा गोल गर्ने राम्रा मौका बनाएको थियो र खेलमा जितको वातावरण बनाउन सकेन । कोरिन्टिन टोलिसो र थोमस मुलरको प्रहार रियलका गोलरक्षक केइलोर नावासले रोके । यस्तै माट्स ह्युमेल्सको हेड प्रहार पर गयो ।

यो खेलमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन् । च्याम्पियन्स लिगमा उनले गोल गर्न नसकेको यो लगातार दोस्रो खेल हो ।

रियल मड्रिडले अब फाइनलमा लिभरपुल वा रोमासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मे २६ मा युक्रेनको किएभमा हुनेछ ।

पहिलो लेगमा रोमालाई ५–२ ले हराएको इंग्लिस क्लब लिभरपुल फाइनल पुग्ने सम्भावना बढी छ । रोमा र रिभरपुलबिचको सेमिफाइनलको दोस्रो लेग बुधबार राति हुनेछ । – एजेन्सी