५ कार्तिक २०८३, बिहिबार

अवैध रुपमा यार्सागुम्बा संकलन गर्न गएका ४९ जना पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-रुपलाल बोहोरा

डोल्पा (दुनै), १८ बैशाख । पाटन नखुल्दै यार्सागुम्बा चोरेर संकलन गर्नका लागि जगदुल्ला गाउँपालिकाको जगदुल्ला पाटन पुगेका ४९ जनालाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त गस्ति टोलिले पक्राउ गरेको छ ।

यार्सागुम्बा संकलनका लागि पाटन नखुल्दै लुकिछिपी तथा चोरेर संकलन गर्नका लागि जगदुल्ला पाटनमा पुगेका ४९ जना अवैध संकलकहरुलाई जगदुल्ला गाउँपालिकाका पदाधिकारी, मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु र स्थानीयहरुको सहयोगमा राष्ट्रिय निकुञ्ज र सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले पाटनबाटै पक्राउ गरेको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।

यार्सागुम्बा संकलनका लागि पाटन आगामी जेठ १ गतेबाट मात्र खुल्ला गर्ने मिति तोकिएको छ । जेठ १ गते अगावै पाटनमा गएर यार्सागुम्बा संकलन गरेको आरोपमा ती व्यक्तिहरुलाई पक्राउ गरिएको हो । चोरेर यार्सागुम्बा संकलन गर्न पाटन पुगेका संकलकहरुलाई सोमवार राति साढे ११ बजेतिर संयुक्त टोलीले पाटनमै बास बसेको ठाउंबाटै पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरु मध्ये ११ जना महिलाहरु रहेका छन् । पक्राउ परेका ४९ जना सबै डोल्पा भन्दा बाहिरि जिल्लाका रहेको पनि निकुञ्जले जानकारी दिएको छ । यस अघि पनि अघिल्लो सोमबार अवैध रुपमा यार्सागुम्बा टिप्न कागमारा पाटन पुगेका ७ जनालाई पक्राउ गरेर हालसम्म निकुञ्जको हिरासतमा राखिएको छ ।