५ कार्तिक २०८३, बिहिबार

सिरक डसना बनाउने हिक्मतको दैनिक चार हजार बचत

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-नृपराज हमाल 

हुम्ला, १६ बैशाख । देशमा रोजगारीका अवसर नभएको भन्दै युवाहरु विदेशिने क्रम बढिरहेका बेला हुम्लाका एक युवाले आफ्नै देशमा दैनिक चार हजार बचत गरिरहेका छन् ।

हुम्ला चंखेली गाउँपालीका वडा नं ४ का हिक्मत ऐडीले सिरक, डसना धुलाई गर्ने मेशिन भारतबाट ल्याई हुम्ला सदरमुकाम सिमकोटमा सिरक डसना उद्योग संचालन गरेर दैनिक चार हजार बचत गरेर उदाहरणीय काम गरि रहेका छन् । पुराना थोत्रा लुगा, कपडा धुलाएर सिरक, डसना बनाई रहेका हिक्मतलाई आजभोली सिमकोटमा सिरक, डसना र सिरानी बनाउन भ्याई नभ्याई छ ।

विगत द्वन्द्वको समयमा माओवादी लडाकु हुँदै समायोजनसम्म पुगेका हिक्मत समायोजनकै समयमा श्रीमति सुत्केरी हुने भएपछि उनले स्वच्छिक अवकास रोजेर घर फर्किएका थिए । शान्ति पुनर्वहाली पछि उनले दुई वर्ष सिमकोटमा खच्चड चलाएर दिन गुजारेको अनुभव सुनाए ।

खच्चड चलाएर मनग्य आम्दानी हुने नदेखे पछि विदेश गएर पैसा कमाउने सोचले काठमाण्डौं पुगेका हिक्मतले विदेश जानकै लागि ड्राईभिङ्ग सिके । ईन्टरभ्युमा नाम पनि निस्कियो तर, भिसा नआएपछि काठमाण्डौंको बसाई र अन्य खर्चको हिसाव गर्दा एक लाख सकियो ।

६ लाख २५ हजार लगानी गरेर व्यवसाय शुरु गरेका उनले पाँच क्वीनटलको मेशिन भारतबाट सिमकोटमा पुर्‍याएका छन् । ‘भारतबाट नेपालगञ्जसम्म गाडीमा र नेपालगञ्जबाट जहाजमार्फत मेशिन सिमकोट पुर्‍याउन मेशिनको मूल्यभन्दा ढुवानीमा धेरै खर्च लाग्योे’, उनले भने, ‘मेशिन खरिद गरेर ढुवानी गरि सिमकोटमा पुर्याउँदासम्म धेरै खर्च भै सकेको थियो आम्दानी कति हुने हो दोधारमा थिएँ तर, आँट गरेरै लगानी गरेका कारण अहिले राम्रै आम्दानी भइरहेको छ ।’

प्लस टु पास गरेका हिक्मतको कमाई सुनेर अचम्म मान्नेहरु प्रशस्त भए पनि स्वदेशमै केही गर्नु पर्छ भन्ने तर्फ कमैले ध्यान दिएको हुम्लाका युवा गणेश महतारा बताउँछन् । पुराना कपडा मेशिनमा धुलाई गरे वापत प्रति किलोको रु ९०, सिङ्गल डसनाको ८ सय, डवल डसनाको ९ सय, सिङ्गल सिरकको ९ सय, डबल सिरकको एक हजार र सिरानीको १ सय ज्याला लिने गरेको हिक्मतले बताए ।

जिल्लामै पहिलो पटक शुरु गरिएको उनको सिरक डसना उद्योगमा दिन प्रतिदिन ग्राहकको चाप बढ्दै गएका कारण आफ्नो काममा सघाउने मान्छेको खोजीमा छन् । २०७४ फागुन अन्तिम साताबाट एक्लै व्यवसाय शुरु गरेका हिक्मतलाई आजभोली उनका भाइले समेत सघाउन थालेका छन् ।