
काठमाडौँ, १५ बैशाख । उत्तर र दक्षिण कोरियाका नेताहरुले शुक्रबारको ऐतिहासिक शिखर वार्तामा शत्रुता अन्त्य गर्ने र आणविक निशस्त्रीकरणका लागि पहल गर्ने संयुक्त घोषणामा हस्ताक्षर गरेका छन् ।
‘आठ करोड जनताका अघि दुवै नेता गम्भीरतापूर्वक घोषणा गर्दछौँ, आइन्दा कोरियाली प्रायःद्वीपमा युद्ध हुने छैन,’ घोषणामा लेखिएको छ ।
‘अध्यक्ष किम जोङ उन र म कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणका लागि सहमत भएका छौँ,’ हस्ताक्षरपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले भने ।
किम र मुनले हस्ताक्षर गरेको दस्तावेजलाई ‘कोरियाली प्रायद्वीपमा शान्ति, समृद्धि र एकताका लागि पान्मुन्जोम घोषणा’ नाम दिइएको छ । दुई कोरिया एकअर्का्विरुद्ध शत्रुतापूर्ण गतिविधि रोक्न, उत्तर कोरियाको सीमावर्ती सहर केसोङमा सम्पर्क कार्यालय खोल्न, सीमापार रेल तथा सडकमार्ग जोड्न र डिमिलिटराइज्ड जोनलाई शान्ति क्षेत्रको रुपमा विकास गर्न पनि सहमत भएका छन् ।
त्यस्तै चीन र अमेरिकासमेतको सहभागितामा ३ र ४ पक्षीय वार्ताको पहल पनि गरिने भएको छ । दुवै कोरियाबीच शान्ति सम्झौता गरेर औपचारिक रुपमा युद्ध समाप्त गर्न पनि तयार भएका छन् । १९५३ को युद्ध अन्त्यको औपचारिक घोषणा भएको छैन ।
पान्मुन्जोमको शान्ति भवनमा मुनसँगै उभिएका किमले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई सम्बोधन गरे । उनले दुवै कोरिया एक हुन अघि बढ्नुपर्ने बताए ।
‘एकअर्कासँग लड्नपर्ने मानिस होइनौँ हामी । हामी एक भएर बस्नुपर्छ,’ उनले भने, ‘यो क्षणका लागि हामीले लामो समय प्रतीक्षा गरेका छौँ ।’ ‘मलाई आशा छ, म आएको सडक भएर उत्तर र दक्षिणका प्रत्येक कोरियाली नागरिक हिँड्न सकून’ उनले थपे।
दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तर कोरियाको भ्रमण गर्ने घोषणा पनि गरिएको छ । –एजेन्सी















प्रतिक्रिया