
काठमाडौँ, ११ बैशाख । २०७२ सालको भूकम्पमा परि बाँच्न सफल भएकाहरुको कथामा आधारित बहुचर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’को विशेष प्रदर्शन गरिएको छ ।
भूकम्प भएको तेस्रो वर्षको पूर्वसन्ध्यामा मार्टिन चौतारीले काठमाडौँमा भाग्यले बाँचेकाहरुलको प्रदर्शन गरेको हो । फिल्मको प्रदर्शनपछि अन्तरक्रियात्मक कार्यक्रम राखिएको थियो । निर्देशक गणेश पाण्डेले दर्शकका जिज्ञासाको जवाफ दिदै इतिहास निर्माण गर्न र भूकम्पपीडितको सहयोगका लागि वृत्तचित्र बनाएको बताए ।
भोलीको पुस्ताले फिल्म हेरेर सम्भावित जोखिमबाट बच्न सक्ने उनले बताए । १९९० सालको भूकम्पको कुनै वृत्तचित्र भएको भए २०७२ को भूकम्पमा यति धेरै क्षति नहुने उनको तर्क । वृत्तचित्रको प्रदर्शनपछि धेरै ठाउँमा अक्षय कोष निर्माण भएको, विद्यालय बनेको, केही पीडितहरुको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिइएको समेत पाण्डेले बताए ।

यो फिल्म केही समयपछि स्कटल्याण्डको संसदमा पनि प्रदर्शन हुँदैछ । यसअघि आजैका दिन त्यहाँ प्रदर्शन हुने भनिएपनि विशेष कारणवस समय परिवर्तन गरिएको हो । गत बर्षको बैशाख ११ गते पनि बेलायतको संसदमा भाग्यले बाँचेकाहरु प्रदर्शन भएको थियो ।
नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा बाँच्न सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ भने ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको छ । यो वृत्तचित्र १३ वटा अन्तर्राष्ट्रिय भाषामा अनुवाद भइसकेको निर्देशक पाण्डेले जानकारी दिए ।

साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् ।















प्रतिक्रिया