४ कार्तिक २०८३, बुधबार

परिवन्दै परिवन्दको ‘परिवन्द’

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । कालिकास्थानस्थित सर्वनाम थिएटरको प्रेक्षालयमा प्रवेश गर्दा ढोका छेउमा उभिएकी एक जना पूर्वेली महिलाले ‘सेवारो’ टक्र्याउँदै स्वागत गर्छिन । हलभित्र बसि नसक्दै ‘सोईसोई सा सा हुर्र हा हा’ को मीठो गीत र नृत्यले स्वागत गर्छ । लाग्छ, पूर्वको कुनै ग्रामीण जनजाती गाउँमा छु ।

अनि, विस्तारै देखिन थाल्छन् अनेकन परिवन्दहरुका श्रृंखलाहरु । सर्वनाम थिएटरमा गएको १ गतेदेखि चलिरहेको नाटक ‘परिवन्द’को सानो दृश्य हो यो । नाटक हेर्नूपूर्व धेरैले अनुमान गर्छन्, कि नाटक पुष्कर शमशेरले लेखेकोे कथा परिवन्दमा आधारित होला भनेर । तर, नाटक त्यो कथासँग त मिल्दैन नै, प्रशिक्षार्थीहरुले तयार पारेका हुन् भन्ने विश्वास गर्न पनि मुश्किल पर्छ । व्यवसायिक रंगकर्मीले तयार पारेको भन्दा कम लाग्दैन उनीहरुको प्रस्तुती ।

गाउँमा आधुनिक कृषि गरिरहेको पारुहाङ आफ्नो बाल्यकालको साथी लालबहादुर, जो लाहुरे हुन्छ, उसको रवाफिलो जीवनशैलीबाट प्रभावित हुन्छ । अर्काेतिर पारुहाङलाई कृषि पेशाबाट सन्तुष्टि मिलेको हुँदैन । ऋण कसरी तिर्ने भन्ने चिन्ताले गाँजेको हुन्छ । लाहुरे, जसले आफ्नै साथी पारुहाङको पत्नि नुमालाई आँखा लगाउँछ, ऊ चाहान्छ कि पारुहाङ लाहुर जाओस् । त्यही भएर पनि ऊ पारुहाङको अघि रवाफिलो जीवन देखाउँछ, लाहुर जाने बन्दोवस्त मिलाउँछ । अन्नतः पारुहाङ दुई जिउकी पत्नि छोडेर लाहुर जान बाध्य हुन्छ । लाहुरेको परिवन्दमा पर्छ । लाहुर उसले सोचेजस्तो सजिलो कहाँ थियो र ? त्यहाँ पनि ऊ परिवन्दमा पर्छ ।

यता लाहुरे नुमालाई सहयोग गर्ने बहानामा उसँग नजिकिन्छ । प्रेम गरेको भन्दै आफूसँग विहे गर्न प्रस्ताव गर्छ । कतिसम्म भने पारुहाङ मरेको भनेर नुमालाई लगत खबर सुनाउँछ । पारुहाङ लाहुर गएको पाँच वर्षपछि उसकी आमाको मृत्यु भइसकेको हुन्छ । एउटा छोरा हुर्काउँदै श्रीमान आउने आशामा बसेकी नुमाका विषयमा गाउँमा अनेकथरी कुरा काट्छन् ।

लाहुरेसँग पनि उसको नाम जोडिन्छ । अन्नतः १० वर्षपछि गाउँका मान्छे खोज्न गएपछि पारुहाङ घर फर्किन राजी हुन्छ । ऊ घर त फर्किन्छ तर, साथमा अर्की श्रीमति पनि हुन्छे । नुमा पारुहाङलाई सोध्छे, ‘१० वर्षपछि आफ्नो श्रीमान घर फर्कियो भनेर खुशी बनुँ, कि आफ्नै प्रेम खोसियो भनेर दुःखी बनुँ ? पारुहाङ नजवाफ हुन्छ ।

यसपछि पारुहाङ र नुमाको जीवन कता मोडिएला ? के लाहुरेले नुमालाई गरेको प्रेम सफल होला ? यो थाहा पाउनका लागि भने नाटक परिवन्द एकपटक हेर्नैपर्छ । सर्वनामको १२ औँ प्रशिक्षार्थी व्याचले तयार पारेको नाटक परिवन्द आउँदो १५ गतेसम्म बिहीबारबाहेक हरेक दिन साँझ सवा ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त मञ्चन हुनेछ।