४ कार्तिक २०८३, बुधबार

नारायण गोपालको एउटा दुर्लभ प्रश्न- खोजेर पनि कहिँ प्रतिभा पाइन्छ ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अहिले गायकको खोजीका लागि नेपाली रािष्ट्रय टेलिभिजनमा प्रतिभाको खोजीका लागि विभिन्न अन्तर्राष्ट्रिय ‘फ्रेन्चाइज शो’का संस्करण आउन थालेका छन् । करोडौं खर्च गरेर यस्ता शो नेपाली टेलिभिजनमा ल्याउन थालिएका छन् ।

विवादीत पनि बन्ने शोहरूका बारेमा आजभन्दा ३० वर्षअघि नै स्वरसम्राट नारायण गोपालले आलोचना गरेका थिए । तत्कालिन वडामहारानी रत्नराज्य लक्ष्मी शाहले खोलेको रत्न रेकर्डिङ संस्थाको कामको प्रतिक्रिया दिने क्रममा प्रतिभा खोजेर नभेटिने बताएका थिए ।

एउटा अन्तरवार्ताका क्रममा नारायण गोपालले भनेका छन्,‘ शुभकामना सङ्गीत कहिले प्रतिभाको खोजी भनेर काम गरिन्छ । खोजेर पनि कहीँ प्रतिभा पाइन्छ ? प्रतिभा आफैँ प्रस्फुटित हुने कुरा हो । त्यसैले प्रतिभा खोज्नेभन्दा प्रस्फुटित प्रतिभालाई जोगाउने र संरक्षण गर्ने काममा लाग्नुपर्छ ।’

उनले राजनीतिक क्षेत्रमा झैं साँस्कृतिक क्षेत्र पनि भूमिगत गिरोहबाट पीडित भएको बताएका थिए । रेडियो नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठानको व्यवस्थापनमा स्वार्थी व्यक्ति र गिरोहको प्रभाव रहेको उनको आरोप थियो ।

उनले त्यसबेला भारतमा बोलाउँदा किन नगएको भन्ने सन्दर्भमा भनेका थिए,‘स्वाभिमान त्यागेर त्यहाँ गई अरूको चाकडी गर्न चाहन्नँ । म आज जे छु नेपाल र नेपालीले गर्दा नै छु र म यसैमा सन्तुष्ट छु । म ज्यादा धनी नभए पनि गरिब पनि छुइनँ र पैसा कमाउनु मात्र मेरो लक्ष्य छैन । हिन्दी फिल्ममा गाउने रहर मलाई पटक्कै छैन ।’

गायन, सङ्गीत वा कलाको सीमा नहुने बताउने नारायण गोपालले जतिजति गाउँदै वा सङ्गीत गर्दै गयो, उतिउति नयाँनयाँ क्षितिजहरू खुल्दै जाने विश्वास राख्थे । ‘यो एउटा अनन्त यात्रा हो । बीथोवेनले एक ठाउँमा भनेका छन्, वास्तविक कलाकारसँग अहम् भन्ने चीज हुँदैन’, उनले पत्रकार हरिहर विरहीसँगको अन्तरवार्ताका क्रममा भनेका थिए ।

केटाकेटी उमेरमै नारायण गोपाल बाबु आशागोपाल गुरूवाचार्यसँग हिँड्थे । उनको घरको बैठकमा प्रायः सधैँ सङ्गीतको महफिल जमिरहन्थ्यो ।

‘केटाकेटी अवस्थामै म त्यो महफिल बेलाबेलामा जान्थेँ र गीतहरू सुन्थें। यस्तैमा म विस्तारै गाउन पनि थालें । सर्वप्रथम मैले २०१७ सालमा आफ्नो कलेजको समारोहमा दुइटा गीत गाएँ । ती गीत ‘स्वर्गकी रानी’ र ‘आँखाको भाखा आँखैले’लाई साथीहरूले ज्यादै मन पराए’, उनले अन्तरवार्तामा खुलाएका थिए । त्यहाँदेखि गाउँदा गाउँदै महान् र लोकप्रिय गायक बन्दा पनि उनी भन्थे,‘यो उद्देश्यहिन यात्राले यहाँ ल्याइपुराएको हो ।’

आर्थिक सहयोग वा पारिश्रमिकका विषयमा उनी सन्तुष्ट थिएनन् । सरकारी क्षेत्रबाट पाउने सहयोग बिल्कुलै नगन्य रहेको बताउँथे उनी ।

‘एउटा गीत गाएको ४०–५० रूपैँया पाइन्छ । आजकल ७५ रूपैँया छ क्यार । एउटा कलाकारले हप्तामा एउटा गीत रेकर्ड गरायो भने पनि महिनाको सरदर ३०० रूपैँया प¥यो । अर्थात् एउटा राम्रो कलाकारले पियनको भन्दा कम पाउँछ’, उनले भनेका थिए,‘गीत गाएर मात्र कलाकार बाँच्दैन । बाँच्नका लागि खानु पनि पर्छ । त्यसकारण बाँच्नका लागि उसले यति कडा संघर्ष गर्नुपर्छ कि कला–साधना गर्ने समय नै पाउँदैन। खेलकुद र त्यस्तै अरू कतिपय अनुत्पादक क्षेत्रमा करोडौँको लगानी गर्न सकिन्छ भने सङ्गीत र कलाको क्षेत्रमा लगानी गर्न किन त्यस्तो कन्जुसी गरिएको हो–बुझ्न सकेको छैन ।’