४ कार्तिक २०८३, बुधबार

गाएर बाँच्नेको गाँस कसरी खोसियो ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जमाना बदलियो, मान्छे बदलिए, ग्राहकले सरल सुविधा उपभोग गर्न थाले । यो ठूलो जमातको बदलिएको व्यवहारका कारण धेरैले पलायनको ‘स्क्रिनप्ले’ जीवनको यथार्थसँग भोग्नु परेको छ ।

आफु अपडेट नहुँदा हो या बजारले अपडेट हुन नदिँदा यस्तो भयो थाहा छैन । युट्युबलगायत इन्टरनेटका भयानक नयाँ सुविधा मात्र होइन, डाउनलोड र कपीका प्राविधिक चिप्सका अगाडि पुरातन जीवन कलासहित लामो समय टिक्न कठिन बनेको छ ।

खासगरी जो प्रविधिसँग अपडेट भयो, उसका लागि फरक बजार खुला त भए तर टिक्न मुस्किल देखिन थाल्यो । नेपाल सानो बजार हो, गीत संगीतका लागि । तर, विश्वबजार ठूलो छ । यद्यपि, जो सानो बजारमा अटाएका छैनन्, उनले विश्वबजारमा चान्स पाउने कुरै भएन । त्यसैले कतिपय गायक/गायिका राम्रा हुँदाहुँदै पनि जीवनको पलायनवादी पटकथाका पात्र त बनेकै छन् ।

बेला त्यस्तो पनि थियो, एउटा गीति एल्बम बेचेरै लाखौं आम्दानी गरिन्थ्यो । हरेकका घरमा चलेका गायक÷गायिकाका एल्बम संकलन गरेर राखिएको हुन्थ्यो । तर, समय अहिले त्यस्तो रहेन । यही संगीत बजारमा ३ लाख क्यासेट बिक्री गरेर म्युजिक नेपालको रेकर्ड तोडेका रामकृष्ण ढकाल अहिले निरन्तरताका लागि मात्रै एल्बम निकाल्छन् ।

बेला त्यस्तो पनि थियो, एउटा गीति एल्बम बेचेरै लाखौं आम्दानी गरिन्थ्यो । हरेकका घरमा चलेका गायक÷गायिकाका एल्बम संकलन गरेर राखिएको हुन्थ्यो

आशीर्वाद, आशाजस्ता एल्बम बेचेरै आफ्नो आर्थिक हैसियतमा नाटकीय परिवर्तन गरेका ढकालसमेत यतिबेला एल्बम निकाल्नुअघि १० पटक सोच्न थालेका छन् । प्रविधिको विकासले एल्बमको महत्व कम भएकाले गायकगायिका मर्कामा परेका हुन् । अचम्मलाग्दो कुरा त बजार छैन, लगानी उठ्दैन भन्ने थाहा हुँदाहुँदै पनि गायक÷गायिकाका एल्बम बजारमा आउने क्रम भने बढिरहेको छ ।

सातामा दर्जन हाराहारीमा एल्बम सार्वजनिक भइरहेका छन् । यद्यपि अधिकांशले एल्बम बेचेकै भरमा लगानीको एक चौथाइ पनि उठाउन सकेका छैनन् । च्याउजस्तै बजारमा नया“ एल्बम किन भित्रिएका होलान् ? यसका धेरै पक्ष छन्, यसको लेखाजोखा अहिलेको आवश्यकता हो । सरोकारवाला निकाय र गीत गाएर ऋणमा डुब्नेहरू नै यो मुद्दामा उदासीन बनेपछि सागरमा हराएको जहाजजस्तो बनेको छ नेपाली संगीत बजार ।

गायक भरत सिटौलाका अनुसार कलाकारितालाई पेसाका रूपमा टिकाउन नसकेर दर्जनौं संगीतकर्मी विदेशिएका बेला वैदेशिक रोजगारीबाट फर्कनेहरू चाहिँ सोखमा एल्बम निकालेर संगीतको भीडमा हराउन थालेका छन् । जसलाई आजभोलि लाहुरे सिंगरका रूपमा चिनिन्छ । पैसा भएपछि गायक बन्न सकिन्छ भन्ने मान्यता विकास भएको अहिलेको परिप्रेक्षमा वैदेशिक रोजगारबाट फर्केकालाई सोख पूरा गर्ने सजिलो माध्यम बनेको छ एल्बम निकाल्ने काम । गीत राम्रो भए एक/दुई दिन सञ्चारमाध्यममा बज्छन् त्यसैमा दंग प¥यो नभए गायकको पगरी आफैँ गुथ्यो अनि गजक्क बन्नुबाहेक हातलाग्यो शून्य ।

गीत गाएरै नाम र दाम कमाएका कर्णदास, यमबराल, सञ्जीव प्रधान, जगदिश समाल, दीपेश किशोर भट्टराई, राजु लामालगायत अन्य दर्जनौं नाम चलेका गायक विदेश पलायन भएका छन्

दर्शक श्रोताको संख्या घटेर संगीत बजार ओरालो लागेको पक्कै होइन, प्रविधिको छलाङलाई नियमन र अनुगमन गर्ने संयन्त्र नभएकैले सर्जकका दिनदशा सुरु भएको हुन् । एल्बम र सिडीलाई सानो चिप्स र मेमोरीकार्डले विस्थापित गरेपछि एल्बमको बिक्री न्यून भएको हो । डिजिटल बजारलाई नियमन गर्न नसक्दा हात हातमा ब्लुटुथका माध्यमबाट सयौं गीत सजिलै सेयर गरिरहेका छन् ।

पैसा तिरेर गीत सुन्ने जमाना कुनै बेला थियो तर अब त्यो इतिहास बनेको छ । एउटा एल्बम निकाल्दा ३ देखि दशौं लाखसम्म खर्च हुन्छ तर खै त यसको प्रतिफल ? त्यसैले त दिनदिनै नया“ गायकगायिका यो भिडमा देखा पर्छन हराउनकै लागि । कसैले पत्तै नपाउने गरी गुमनाम बन्छ उनीहरूको एल्बम पनि । हिजो घर घरमा क्यासेट संकलन गर्नेहरू अहिले ब्लुटुथ र कम्प्युटरको डिभाइसबाट हात–हातमा रहेका सेल फोनमा सयौं गीत संकलन गर्न थालेपछि गीत गाएर बाँच्न खोज्नेहरूको गाँस खोसिएको छ ।

सर्जक मात्रै होइन यो बजारमा स्थापित दर्जनौँ म्युजिक कम्पनीसमेत डुबेका छन् । कुनै बेला संगीत बजारमा राज गर्ने सान्तना रेकर्डिङ, ताल म्युजिक, हिमालय अडियो हाउसजस्ता दर्जनौं म्युजिक कम्पनी बन्द भइसकेका छन् । संगीत बजारमा आएको यो कहालीलाग्दो परिदृश्यले सहजै अनुमान गर्न सकिन्छ बाँकी रहेका अन्य कम्पनीको भविष्य पनि राम्रो छैन ।

गीत गाएरै नाम र दाम कमाएका कर्णदास, यमबराल, सञ्जीव प्रधान, जगदिश समाल, दीपेश किशोर भट्टराई, राजु लामालगायत अन्य दर्जनौं नाम चलेका गायक विदेश पलायन भएका छन् । कर्णदाश र कुनैबेलाको लोकप्रिय ब्याण्ड कन्दराका भोकलिस्ट विवेक श्रेष्ठ भने विदेशबाट फेरि नेपाल फर्किएका छन् । पलायनका कथा थपिँदो छ । डिजिटल प्रविधिलाई सर्जकको फाइदासँग जोड्न नसक्ने हो भने रहर र सोखले चल्ने संगीत बजार कहिलेसम्म धानिएला ?