
काठमाडौँ, ७ बैशाख । भारतका प्रधानन्यायाधीश दीपक मिश्रा विरुद्ध राज्यसभामा महाअभियोग प्रस्ताव दर्ता भएको छ । विपक्षी दल भारतीय कंग्रेसको अगुवाइमा सात दलले प्रधानन्यायाधीश मिश्रविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका हुन् ।
राज्यसभाका सभापति वेंकैया नायडूसमक्ष ७१ जना सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश मिश्रा विरुद्धको महाअभियोग प्रस्ताव बुझाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय संविधानमा प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न ५० जना सांसदको हस्ताक्षर हुनुपर्ने उल्लेख छ । सोहराबुद्दिन इन्काउन्टर मुद्दामा सुनुवाई गरेका न्यायाधीश लोयाको हत्याको मुद्दामा प्रधानन्यायाधीशको इजलाश विवादमा परेको थियो ।
उक्त घटना पुनः जाँचका लागि राष्ट्रपतिसँग भेट गरी आग्रह गर्ने विषयमा शुक्रबार नै विपक्षी दलको बैठक बस्दैछ । न्यायाधीश लोयाको हत्या अनुसन्धान गर्न माग गर्दै दायर भएको निवेदनमा प्रधानन्यायाधीश मिश्रले पुनः अनुसन्धान गर्न नपर्ने आदेश जारी गरेपछि उनी विरुद्ध कंग्रेस लगायतका दल आक्रोशित भएका थिए ।
प्रधानन्यायाधीश मिश्राविरुद्ध महाअभियोग ल्याउन भारतीय कंग्रेसले करिब एक महिना अघिदेखि हस्ताक्षर संकलन कार्य सुरु गरेको थियो ।
प्रस्तावमा राष्ट्रवादी कंग्रेस पार्टी, भारतीय कम्युनिस्ट पार्टी र मार्क्सवादी कम्युनिस्ट पार्टी, मुस्लिम लिग लगायतका ७ दलका सांसदहरुले हस्ताक्षर छ ।















प्रतिक्रिया