
काठमाडौँ, ६ बैशाख । नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) ले प्रस्ताव गरेको विधान हुबहु पारित गरेको छ । बिहीबार काठमाडौंमा भएको साधारसभाले विधान हुबहु पारित गरेको हो ।
क्यानका ३७ जिल्लाका प्रतिनिधि र केन्द्रीय समितिका पदाधिकारीको उपस्थिति रहेको साधारणसभामा आइसिसीका प्रतिनिधि अमर शेख समेत उपस्थिति थिए ।
विधान आइसिसीले गठन गरेको सल्लाहकार समितिले बनाएको थियो । केही असहमति भएपनि क्यानमाथिको निलम्बन हटाउनका लागि विधान हुबहु पास गरेको बताइएको छ । विधान पास भएपछि निलम्बन फुकुवा हुने आशा गरिएको छ ।
क्यानको केन्द्रीय समितिको निर्वाचनपछि आगामी जुलाईमा बस्ने आइसिसीको बैठकमा क्यानमाथि लगाएको निलम्बनको विषयमा प्रस्ताव पेश गरिनेछ ।
यसअघि ३७ जिल्लाको निर्वाचन भएको थियो । ललितपुर र भक्तपुरमा जिल्ला क्रिकेट संघको भने निर्वाचन हुन सकेको छैन । जिल्लाको निर्वाचनपछि प्रदेश र केन्द्रीय समितिको निर्वाचन हुनेछ ।
आन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले क्यानलाई ०७३ बैशाखमा निलम्बन गरेको थियो । त्यसपछि आइसिसीले नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ ।















प्रतिक्रिया