काठमाडौँ, ५ वैशाख । नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अवस्थित सगरमाथा अर्थ स्टेशनमार्फत मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा अवस्थित भिस्याट प्रविधिलाई जडान गरी सेवा सञ्चालनमा ल्याएको हो ।
मुगुम कर्मारोङ जिल्लाको सबैभन्दा विकट र दुर्गम स्थानमा रहनुका साथै चीनको सीमाना तत्कालीन मुगु गाविसको मुगु गाँउ नाक्च्या लाग्नासँग जोडिएको गाउँपालिका हो । यो करिब ३ हजार मिटर उचाईमा अवस्थित छ । मुगु सदरमुकाम गमगढी र प्रसिद्ध रारातालदेखि तीन दिन पैदल हिडेर सो स्थानमा पुग्न सकिन्छ । उक्त क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन । स्थानीय वासिन्दाहरु करिब ३ घण्टा हिडेर मोबाइल सेवा उपभोग गर्ने गरेका थिए । अब भने उनीहरुले घर आँगनमै मोबाइल सेवा प्रयोग गर्न पाउने टेलिकमको दाबी छ ।
अब सो सेवाबाट त्यस स्थानका करिव २ सय जति घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने टेलिकमले विश्वास लिएको छ । उनीहरुले जीएसएम मोबाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् । सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएका छन् । स्थानीय वासिन्दाहरुले अब त्यस क्षेत्रमा पनि पर्यटन विकासका लागि सहयोग पुग्ने बताएका छन् ।















प्रतिक्रिया