
काठमाडौं, २ वैशाख । सरकारले शिक्षाबाट बञ्चित बालबालिकाका लागि थालेको भर्ना अभियानमा अभिभावक बन्नका लागि सक्षम व्यक्तिलाई आह्वान गरेको छ ।
शिक्षा मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी अभिभावकत्व लिएर सरकारको कामलाई सहज बनाउन आग्रह गरेको छ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले अभिभावकत्वको काम प्रधानमन्त्री केपी शर्मा ओलीबाटै भएकाले सबैले योजनामा साथ दिन आग्रह गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुका ठिन्ले साँवु लामालाई विद्यालय भर्ना गरेका छन् । भर्ना अभियान अन्तर्गत अभिभावकत्वका लागि प्रेरणा मिलोस् भनेर ओली अभिभावक बनेका हुन् । ओलीको यो निर्णयले सबै मन्त्रीहरू पनि अभिभावक बन्ने भएका छन् ।
विपन्न वर्गका बालबालिकालाई शिक्षामा पहुँच पुराउनका लागि यो अभियान थालिएको हो । मन्त्री, सांसददेखि सरकारी कर्मचारी कलकारले पनि विपन्न वर्गका बालबालिकाको अभिभावकत्व ग्रहण गर्दैछन् ।
‘सामुदायिक विद्यालयमा अभिभावकत्व लिँदा वर्षमा ६ हजार खर्च हुने रहेछ’, मन्त्री पोखरेलले भने,‘यो सानो रकम हो । यति गर्दा बालबालिका शिक्षाको पहुँचमा पुग्न सक्छन् भने सत्कर्म गरौं ।’
अभिभावकत्व ग्रहण गर्नेले बच्चालाई न्यूनतम स्टेशनरी, पोसाक र दिवा खाजा खर्च व्यहोर्नुपर्छ । ‘सरकारी बाहेकका विद्यालयमा पढाउँछु भनेर कोही जिम्मेबार हुन्छ भने त्यसलाई पनि स्वागत गरिनेछ ।’, उनले भने ।
उनले अभिभावकत्व ग्रहण गर्न कठिन लागे एक वर्षपछि सरकार आफैंले यो अभियानलाई अगाडी बढाउन अभिभावकत्व लिने बताए ।















प्रतिक्रिया