लण्डन, २ वैशाख । सिरियामा गएको हप्ता भएको भनिएको रसायन आक्रमणको जवाफ स्वरुप अमेरिका र उसका सहयोगी राष्ट्रले सिरियामा हवाई आक्रमण गरे ।
रसायन आक्रमणमा संलग्न रहेको आरोप लागेको सिरियाली सेना र उसलाई सहयोग गर्दै आएको रुसले अमेरिका, फ्रान्स तथा बेलायतले संयुक्त रुपमा गरेको हवाई आक्रमणको निन्दा गरेको छ ।
रसायन आक्रमणको आरोप अस्वीकार गर्दै आएको रुसले अमेरिकाको नेतृत्वमा भएको हवाई आक्रमण गुण्डागर्दी रहेको आरोप लगाएको छ ।
रुसले पश्चिमा देशले सिरियामा गरेको हवाई आक्रमणको निन्दा गर्नका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा प्रस्ताव लगे पनि त्यो पास हुन सकेन ।
अमेरिका र उसका सहयोगीले शुक्रबार राति सिरियामा रहेका रसायनिक हतियार उत्पादन केन्द्र तथा भण्डारण क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेका हुन् ।
रुस तथा सिरियाले आलोचना गरिहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब फेरि रसायन आक्रमण भएमा आफूहरु त्यसको जवाफका लागि हवाई आक्रमण गर्न तयारी अवस्थामा रहेको चेतावनी दिएका छन् ।
सिरिया वा रुसले नयाँ रसायन आक्रमण गरेमा त्यस लगतै आफूहरुले हवाई आक्रमण गर्ने र त्यसका लागि आफूहरु ‘लक्ड एण्ड लोडेड’ अवस्थामा रहेको ट्रम्पले बताएका हुन् ।
अमेरिका, फ्रान्स तथा बेलायतले गएको हप्ता ७० जना भन्दा बढीको ज्यान जाने गरि भएको भनिएको रसायन आक्रमणको जवाफ स्वरुप सिरियाका तीन क्षेत्रमा शुक्रबार हवाई आक्रमण गरेका हुन् ।
सिरियाले आफूले कुनै पनि किसिमको रसायन आक्रमण नगरेको दाबी गर्दै आएको छ । तर अमेरिकासहितका देशले रसायन आक्रमण भएको र त्यसका लागि रुसले सिरियालाई सहयोग गरेको आरोप लगाएका छन् ।
अमेरिका तथा उसका सहयोग देशले सिरियामा गरेको हवाई आक्रमण सिरिया युद्धको सात वर्षमा पश्चिमा देशले सिरियाली राष्ट्रपति बसर अल–असद विरुद्ध गरेको अहिलेसम्मकै ठूलो आक्रमण हो ।















प्रतिक्रिया