नयाँदिल्ली, २ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लगातार तेस्रो जित दर्ता गरेको छ ।
जारी ११ औँ संस्करणको आइपिएल अन्तर्गत शनिबार बेलुका भएको खेलमा हैदरावादले कोलकाता नाइटराइडर्सलाई ६ बल बाँकी हुँदा पाँच विकेटले हराएको हो ।
कोलकाताले प्रस्तुत गरेको १३९ रनको लक्ष्य हैदरावादले १९ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टाएको हो ।
हैदरावादका लागि कप्तान केन विलियम्सनले ४४ बलमा ५० तथा शकिब अल हसनले २१ ब्लमा २७ तथा ऋद्धिमन साहले १५ बलमा २४ रन बनाए । कोलकाताका सुनिल नरिनले दुई विकेट लिए ।
यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ्ग गरेको कोलकाताले ८ विकेटको क्षतिमा १३८ रन बनायो । उसका लागि क्रिस लिनले ३४ बलमा ४९ तथा दिनेश कार्तिकले २७ बलमा २९ रन बनाए पनि हार टार्न सकेनन् ।
लगातार तीन खेलमा जित निकालेको हैदरावाद ६ अंकसहित शीर्ष स्थानमा छ भने तीन खेलमा दुईमा पराजित भएको कोलकाता दुई अंकसहित चौथो स्थानमा छ । – एजेन्सी















प्रतिक्रिया