
काठमाडौं, ३० चैत । माओवादीले आक्रान्त पारेको समाजमा त्यसको प्रतिरोधका लागि युथ फोर्स नेपाल गठनको अवधारणा ल्याउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दशकको राजनीतिक छवि र गतिमा निक्कै फरक पाउन सकिन्छ । उनी अहिले प्रधानमन्त्री छन् ।
त्यसमा केही परिवर्तन समयको थियो, केही ओलीको पनि होला । शनिबारदेखि वर्ष अर्को योगमा छिर्दैगर्दा बितेका ३ सय ६५ दिनमा मात्र ओली कति परिवर्तित भए भन्ने संश्लेषणको महत्वपूर्ण घटनातस्बिर यहाँ छ ।
मधेसमा तिव्र बिरोधकाबीच अघिल्लो वर्ष प्रधानमन्त्री पदमा रहेपनि सहकर्मी दल नेकपा माओवादी केन्द्रले नै अविश्वासको प्रस्ताव ल्याएपछि प्रतिपक्षी दलको नेता बनेका ओलीको ०७४ को राजनीतिक यात्रा असामान्य थियो । स्थानीय तहको निर्वाचनको चर्चा चलिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए ।
सोही क्रममा संविधान संशोधनको माग राखी मधेसवादी राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) र संघीय समाजवादी फोरम नेपाल स्थानिय चहको चुनावको विरोधमा थिए । ३१ वैशाखमा पहिलो चरणको चुनावको तयारी करिब–करिब पुरा भइसकेको थियो । ११ वैशाखमा प्रतिपक्षी दलका तर्फबाट तत्कालिन व्यवस्थापिका संसदमा ओलीले महत्वपूर्ण सम्बोधन गरे । त्यसमा उनी आक्रोश, क्रुरता र संविधानप्रतिको अडानमा कायम थिए ।
उनले तीन प्राथमिकता अगाडी सारेका थिए । त्यसमध्ये पहिलो थियो– संविधान संशोधन गर्नै नसकिने अडान । तत्कालिन सरकारले ल्याएको संविधान संशोधन विधेयक खतरनाक भएको उनको टिप्पणी थियो ।

दोस्रो नेपालको कुल बजेटमा उनको अडान देखियो । १५ जेठमा नै बजेट ल्याउनुपर्ने आफ्नो सरकारको निर्णयमा अडिन सुझाव दिएका थिए । र अर्को थियो, बजेट ल्याएर गरिने चुनाव अस्वीकार्य हुने तर्क । ‘जेठ १५ गते बजेट पेश गर्ने, अनि चुनावी बजेट भाषण गरेर चुनाव गर्ने ?’ ओलीले भनेका थिए, ‘गजब छ, के लोकतन्त्रमा यस्तो हुनसक्छ ? आचारसंहिताले दिन्छ ? निष्पक्षता त्यसले दिन्छ ?’
पहिलो चरणको चुनाव सम्पन्न भएपछि केही हर्षित मुद्रामा थिए ओली । स्थानीय तह निर्वाचनमा एमालेको पल्लाभारी भए पछि उनको घोचपेचका भनाई कम थिएनन् । मिर्गौलाको उपचार गराइरहेका ओलीलाई चुनावको संकेतसँगै थालइल्यान्डमा बोलाइयो । उनी फलोअप चेकअपका नाममा २ असारमा श्रीमति राधिका शाक्य र सहयोगी राजेश बज्राचार्यसहित बैंकक गए । उनी ६ महिनापछिको अन्तरालमा उपचारका लागि पुगेका थिए ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनअघि तत्कालिन प्रधानमन्त्री प्रचण्डले राजीनामा गरिसकेका थिए । दोस्रो चरणको निर्वाचन त्यसको तयारी र चुनावी काममा विभिन्न ठाउँका सभा र सम्मेलनमा ओली व्यस्त भए ।
उनी पुनः स्वास्थ्य जाँच गराउनका लागि ९ भदौमा बैंकक गए । यो भ्रमण भने उनको भारतसँग चिसिएको सम्बन्ध सुधारको आधार बनेको कतिपयले बताउने गरेका थिए ।

तत्कालिन प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवाप्रति निक्कै कठोर कटाक्षमा पनि उनी व्यस्त रहे । प्रहरी महानिरिक्षक बढुवाका क्रममा तत्कालिन डिआइजी नवराज सिलवालबारे देउवाविरूद्ध आक्रामक भए । सिलवाललाई पार्टी प्रवेश समेत गराए । सोही प्रकरणमा तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीलाई कांग्रेस र माओवादीका सांसदले लगाएको महाअभियोगको विरोधमा उत्रिए ।
यसपछि एकाएक ओलीको तस्बिरका हाउभाउ फेरिन थाले । देश दशैंमा झुमेका बेला एक्कासी सबैलाई सरप्राइज दिने गरी सत्तामै रहेको माओवादीसँग प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धनको घोषणा भयो । १७ असोजमा ओली र प्रचण्डको यो घोषणा अकल्पनिय थियो । यतिमात्र नभएर एकीकरणको चरणमा नै पुग्ने बताइयो, जसका प्राविधिक पक्षका विषयमा अहिले पनि छलफल चलिरहेको छ ।

ओली नेतृत्वमा बाम गठबन्धनले चुनावमा हरेक ठाउँमा जित हात पार्न थाल्यो । उनी कांग्रेसविरूद्ध अझ शक्तिशाली बयानबाजीमा व्यस्त थिए । झापा–५ मा उनले ५७ हजार १ सय ३९ मत ल्याएर प्रतिनिधि सभामा आफ्नो सीटमात्र सुरक्षित गरेका थिएनन्, प्रधानमन्त्रीको कुर्सी समेत जितेका थिए । यो २१ मंसिरको कुरा हो । यसअघि १० मंसिरमा ३२ जिल्लामा झन्डै कांग्रेसलाई शुन्यप्रायः पारेर चुनावमा बाम गठजोडको जस उनले पाइसकेका थिए ।
भारतविरोधी अभियानका कारणले ओली चुनावमा पनि जनताबाट शक्तिशाली भएर अनुमोदन भइसकेका थिए । नेपालमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको अकास्मात् भ्रमण भयो, १८ माघमा । सरकारले यो भ्रमण एकतर्फी भएको बताइरहँदा ओलीले प्रत्युत्तरमा आफूले बोलाएको बताए । जसले अर्को सनसनी खडा गरेको थियो ।
एमाले पार्टीका तर्फबाट स्वराजलाई ४८ घन्टाको दौरानमा भेटवार्तामात्र होइन रात्रीभोज समेत खुवाएर पठाउन भ्याए, ओलीले ।

झलझली आँखा अगाडी रहेको प्रधानमन्त्रीको कुर्सीमा पुग्न हतारमा थिए उनी । उनले यसबीचको समय देउवाको राजीनामा माग्न कुनै सभा र सम्मेलनमा छुटाएनन् । प्रधानमन्त्री नियुक्तिको समय आउँदै गर्दा ३ फागुनमा संसदीय दलको नेतामा निर्वाचित हुँदै प्रधानमन्त्रीमा नियुक्त भए । त्यसको तीन सातापछि २७ फागुनमा उनले विश्वासको मत पनि पाए । दुई तिहाई बहुमतले उनलाई प्रधानमन्त्रीमा विश्वासको मत दियो ।
त्यसअघि २० फागुनमा उनले प्रधानमन्त्रीका रूपमा पहिलो विदेशी समकक्षी पाहुना पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीको स्वागत गरेका थिए ।

त्यसको एक महिनापछि ओली २४ चैतमा परम्परागत भ्रमणका लागि भारतको नयाँ दिल्लीतिर लागे । उनले दिल्लीसँग असमझदारी दुर भएको मात्र बताएनन्, दिल्लीसँग रेल र समुद्रसम्मको पहुँचको समझदारी भएको १५ वटा बुँदामा हस्ताक्षर गरेर फर्किए । अघिल्लो भ्रमणका क्रमा संयुक्त पत्रकार सम्मेलन र हस्ताक्षर समेत नगरेका ओलीले वरिष्ठतम् मन्त्रीको स्वागत पनि पाए, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको न्यानो हार्दिकता पनि । दिल्लीले बिझाएको ओलीलाई दिल्लीले रिझाएर पठाएको थियो । ओली रारा क्षेत्रको उद्घाटनका लागि शुक्रबार डोल्पा पुगिसकेका छन् ।

राजनीतिक उतारचढावका तस्बिरले जे पनि सम्भव बनाउन सकिने ओलीका ३ सय ६५ दिनका महत्वपूर्ण घटनाले देखाउँछ । त्यसैले पनि, एक सय ८ वर्ष अघि मरेका अमेरिकी लेखक मार्क ट्वाइनका शव्दलाई नेपाली सन्दर्भमा जोड्ने हो भने ओलीका हरेक भाषणलाई पढ्ने पाठकहरू मूर्खजस्ता मान्नुपर्छ । उनीहरूलाई ओलीको दलका सदस्य पनि मान्नुपर्छ । ओलीका राजनीतिक तस्बिरका आकार, परिधि र क्षेत्रफल बितेको वर्षले छर्लङ्ग पारिदिएको छ ।















प्रतिक्रिया