२ कार्तिक २०८३, सोमबार

क्रिकेट क्रेजलाई थप उचाइ दिँदै नेपालगञ्ज कप

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–आकाश देकोटा
बाँके, चैत्र २९ । व्यवसायीक क्रिकेटको विकासका लागि बैशाख ३ गतेदेखि १२ गतेसम्म बाँकेमा नेपालगञ्ज कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लामै पहिलो पटक हालसम्मकै बृहत्त लगानीमा उच्चस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुँदै गर्दा क्रिकेटर र क्रिकेटलाई माया गर्नेहरु उत्साही भएका छन् ।

करिब ३० लाख रुपैयाँ लागतमा ग्रीन इभान्टोले नेपालगञ्ज कप क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । यति ठूलो लगानीमा प्रतियोगिता गर्ने जमर्को गर्दा सुरुवातमा अपेक्षा गरिएका अधिकांश ठाउँबाट सहयोग नभए पनि हाल आएर आयोजकलाई धेरैतिरबाट सहयोगका हातहरु अघि बढेका छन् । प्रतियोगिताको भव्यता आँकलन गरेरै होला अहिले प्रोयोजन गर्न चाहनेहरु पनि अगाडि आउन थालेको आयोजकले बताएको छ ।

आयोजक ग्रीन इभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफीका अनुसार प्रतियोगिता सफलतापूर्वक संचालन होस् र आफ्नो व्यवसायीक प्रवर्द्धन पनि होस् भन्ने उद्देश्यले बजारमा राम्रो शाख बनाएका थुप्रै उद्योग तथा कम्पनीहरु सहकार्यका लागि आकर्षित हुँदै गएका छन् ।

‘सुरुवातमा त कतैबाट सहयोग नहुने हो कि भनेर हामी चिन्तित थियौँ । प्रतियोगिताको घोषणापछि समयक्रमसँगै हाम्रा लागि अघि बढेका सहयोगी हातहरुका कारण सुरुवाती चिन्ता दुर हुँदै गएको छ’ ग्रीन इभेन्टोका प्रबन्ध निर्देशक रफीले भने, ‘यो प्रतियोगिता केही नौलो र स्तरीय स्वादमा आउने महशुस गरेरै होला अहिले धेरै व्यक्ति र कर्पोरेट हाउसहरुले हामीलाई विश्वास गरेर मद्दत गरिरहनु भएको छ । उहाँहरुको सहयोग र विश्वास खेर जान नदिन हामी दृढ छौँ । प्रतियोगिता सञ्चालनमा हामी कुनै कमी हुन दिने छैनौँ ।’

चारैतिरबाट जुट्दै गएको सहयोग र समर्थन अनि क्रिकेटप्रेमीहरुको मायाले आयोजकहरु निक्कै हौसियका छन् । आयोजकमात्र नभई क्रिकेटलाई माया गर्नेहरु पनि सन्निकट रहेको प्रतियोगिताप्रति निक्कै आशावादी देखिन्छन् । यो प्रतियोगिताले बाँकेको मात्र नभई समग्र देशकै क्रिकेट विकासमा महत्वपूर्ण योगदा पुर्‍याउने उनीहरुको विश्वास छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट प्रतिनिधित्व गरीसकेका अहिलेका बैंकर शशीरञ्जन कर्ण पनि व्यवसायीक किसिमले यसरी स्तरीयरुपमा क्रिकेट प्रतियोगिता आयोजना हुनु अत्यन्तै सकारात्मक पहलकदमी भएको बताउँछन् ।

आयोजक ग्रीन इभेन्टोका प्रबन्ध निर्देशक रफी राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी पनि हुन् । त्यसैले पनि होला उनले क्रिकेटको मूल्य–मान्यता र सम्भावनालाई आत्मसाथ गर्दै कसरी हुन्छ प्रतियोगितालाई बृहत्तरुप दिन लागिपरेका छन् । अक्सन प्रणालीबाट टिमको खरिद–बिक्री गरेर नेपालगन्ज क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । अक्सन प्रणालीबाट टिम खरिद–बिक्री हुँदा प्रतियोगिताको छुट्टै चार्म बढेको क्रिकेटप्रेमी अवधराज ज्ञवालीको बुझाई छ । उनले यो अक्सनकै कारण भोलिका दिनमा खेलाडी र टीमको भ्याल्यू उल्लेख्य बढ्ने पनि बताए ।