
काठमाडौँ, २८ चैत । प्रहरी प्रमुखमा नियुक्त सर्वेन्द्र खनाल र शैलेन्द्र खनालले बिहीबार (भोली) बिहान ८ बजे दर्ज्यानी चिह्न (फुली) प्राप्त गर्ने भएका छन् ।
सरकारले मंगलबार नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र र सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्रलाई नियुक्त गरेको थियो । गृहमन्त्रालयमा बिहान ८ बजे उनीहरुलाई गृह सचिव प्रेमकुमार राईले फुली लगाइदिने छ ।
नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि अवकाश पाएका छन् । बुधबारैबाट नयाँ महानिरीक्षकले कार्यभार सम्हालेका छन् । तर, दर्ज्यानी चिन्ह भोली पाउनेछन् ।
नेपाल प्रहरीका वर्तमान महानिरीक्षकसँगै १५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), ९ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहित एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले अवकाश पाएका छन् ।
अवकाश पाउने एआईजीहरुमा जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजयकुमार भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङ्मार लामा, मधुप्रसाद पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायस्थ, माधवप्रसाद नेपाल, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ र पशुपति उपाध्याय छन् । उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ ।
त्यस्तै, विदाई हुने प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुमा केदारमानसिंह भण्डारी, गणेश केसी, सुदीप आचार्य, रमेश रञ्जित, रोमेन्द्रसिंह देउजा, गोविन्द निरौला, भोगबहादुर थापा, पुष्प रञ्जित र पुष्कल रेग्मी छन् । उनीहरूसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुहरि गौतमले पनि अवकाश पाएका छन् ।
यसैगरी, सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) श्रेष्ठसहित दुई जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को विदाइ गरिएको छ । एआईजीद्वय प्रेमबहादुर शाही र प्रकाश ओझाको बुधबार विदाइ गरिएको हो ।















प्रतिक्रिया