३ कार्तिक २०८३, मंगलबार

ट्वीटरमा गुनासो; २४ घण्टा नबित्दै ‘एक्शन’मा उत्रिए मन्त्री अधिकारी

12.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ चैत । कास्कीबाट लगातार तीन पटक चुनाव जितेका एमाले नेता रविन्द्र अधिकारी अहिले ओली सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन् । उनले जीवनमा पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएका छन् ।

तत्कालिन विकास समितिको सभापति हुँदा गरेका कामका कारण उनी चर्चित भइसकेका थिए । देशको समृद्धिका लागि केही गर्नुपर्छ भन्ने अठोट बोक्ने थोरै राजनीतिज्ञभित्र पर्छन् अधिकारी । मन्त्रीको जिम्मेवारी पाएसँगै आम नागरिकले उनका गतिविधि नियालीरहेका छन् नै ।
सामाजिक सञ्जाल ट्वीटरमा पनि उनी निकै सक्रिय छन् । जब एक जना व्यक्तिले उनै मन्त्री अधिकारीलाई मेन्सन गरेर ट्वीटरमा गुनासो गरे, त्यसपछि मन्त्री एक्शनमा गइहाले ।

पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई मेन्सन गर्दै शनिबार पत्रकार तथा कवि भोजराज न्यौपानेले गरेको ट्वीट गर्दै लेखे, ‘प्रिय रविन्द्र दाइ ! त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको डोमेस्टिक सेक्सनमा देखिएको यो दृश्यले निकै दुस्ख लाग्यो । अहिलेलाई कम्तिमा यात्रुलाई बस्ने ठाउँ भएपनि बनाउनु र्पयो दाइ ! बाँकी पर्यटन विकास त गर्दै गरौंला ।’ उनले ट्वीटसँगै तस्विर पनि राखेका थिए जसले विमानस्थलको नाजुक अवस्था प्रस्टै झल्काउँथ्यो ।

भोलिपल्ट तीनबजेतिर उनैलाई मेन्सन गर्दै मन्त्री अधिकारीले अर्को ट्वीट गरे, ‘प्रिय भाइ भोज राज आजको २० दिनमा कम्तीमा १०० कुर्सी भएको थप कक्ष तयार गर्ने गरी आज बाट काम गर्न लगाएको छु । सुझावलाई सधै स्वागत छ ।’

यो ट्वीटसँगै विमानस्थलको त्यही कक्षको तस्बिर पनि बाहिरियो जुन अघिल्लो दिनको भन्दा निक्कै फरक थियो । अघिल्लो दिनको असरल्ल कक्षमा भद्रगोल पाराले बसेका पर्यटकको दृश्य थिएन । हलभरि नयाँ कुर्सी टल्किरहेका थिए । विमानस्थलको प्रतीक्षालयको स्वरुप नै अर्कै देखिएको थियो ।

मन्त्री अधिकारीले २४ घण्टा नबित्दै नागरिकको गुनासो सुने । भोजराज एउटा सचेत नागरिक बने जसले औंल्याएको कमजोरीले विमानस्थल परिवर्तन गराए ।

विमानस्थलमा उडान पर्खिएर बस्ने यात्रुको भीड लाग्ने गरेको छ । तर बस्ने ठाउँको राम्रो व्यवस्था नहुँदा भुईंमै बस्न बाध्य थिए । मन्त्री अधिकारीको निर्देशन पछि आइतबार नै विमानस्थल प्रशासनले कुर्सी थप्दै बस्ने ठाउँ व्यवस्थित बनाएको हो ।

सबै मन्त्रीहरु रविन्द्र अधिकारीजस्तै उत्ततरदायी बन्ने हो भने ‘सुखि नेपाली, समृद्ध नेपाल’को नारा सार्थक बन्ने कुरामा कुनै सन्देह छैन ।