नयाँदिल्ली, २५ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औँ संस्करण भव्य रुपमा शनिबार बेलुकादेखि सुरु भएको छ ।
पछिल्ला दुई सिजन प्रतिबन्धका कारण आइपिएलबाट बाहिर रहेको चेन्नई सुपरकिंग्सले शनिबार बेलुका भएको उद्घाटन खेलमा साबिक विजेता मुम्बई इण्डियन्सलाई १ विकेटले हराउँदै आफ्नो शानदार पुनरागमनको झलक देखायो ।
मुम्बईको वानखेडे मैदानमा लगभग हारिसकेको खेलमा टिमलाई जिताउन चेन्नईका डवेन ब्रावोले महत्वपूर्ण भूमिका खेले । टिमलाई चाहिएका बेला ब्रावोले ३० बलमा ६८ रन बनाउँदै जितको बाटो देखाए ।
मुम्बईले दिएको १६६ रनको लक्ष्य पछ्याएको चेन्नईको सुरुवात राम्रो रहेन । उसले सुरुवाति ५० रन बनाउँदा नै उसले चार विकेट गुमायो ।
यसरी पवेलियन फर्किनेमा कप्तान महेन्द्र सिंह धोनी तथा सुरेश रैना जस्ता महत्वपूर्ण खेलाडी थिए । त्यसपछि पनि चेन्नईको प्रदर्शनमा सुधार आएको थिएन । १७ औँ ओभरसम्म उसले खेलमा पकड गुमाएको थियो ।
तर मुम्बईले जितको स्वाद लिन खोज्दै गर्दा ब्रावो अवरोध बनेर खडा भए । उनले १८ औँ र १९ औँ ओभरमा मैदानको चारै तिरबाट हवाई शट खेले र खेलको बाटो मोडिदिए ।
१७ औँ ओभरसम्म ८ विकेटको क्षतिमा ११८ रन बनाएको चेन्नईको भारी ब्रावोले अन्तिम तीन ओभरमा राम्रोसँग बोके । चेन्नई १९ ओभर सकिँदा १५९ रनको अवस्थमा पुग्यो ।
चेन्नईलाई सात बलमा सात रनको खाँचो रहेका बेला ब्रावो हवाई शट खेल्ने क्रममा आउट भए । उनले ३० बलमा तीन चौका र सात छक्का प्रहार गरे । ब्रावो आउट भएपछि रिटायर्ड हर्ट भएर पवेलियनमा रहेका केदार जाधव मैदानमा आए ।
उनले अन्तिम ओभरको चौथो बलमा छक्का र पाँचौँ बलमा चौका प्रहार गर्दै टिमलाई १ विकेटको जित दिलाए । जाधवले २२ बलमा २४ रन बनाए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६५ रन बनायो । उसका लागि सूर्यकुमार यादवले ४३, इशान किशनले ४०, क्रुणाल पाण्ड्याले नटआउट ४१ त्था हार्दिक पाण्ड्याले नटआउट २२ रन बनाए । – एजेन्सी















प्रतिक्रिया