काठमाडौँ, २४ चैत । ‘डिस्कभरिङ हिडेन ट्रेजर’ भन्ने नाराका साथ तेश्रो अन्तर्राष्ट्रिय चिया महोत्सव काठमाडौँमा जारी छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा काठमाडौंस्थित याक एण्ड यती होटलमा जारी महोत्सवको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रबममा बोल्दै मन्त्री खनालले चिया लगायत कृषिको विकासको लागि सरकारले सहजकर्ताको भूमिका खेल्ने बताए । नेपालमा आधा भन्दा बढी जनसंख्या कृषिमा आश्रित रहेको उल्लेख गर्दै मन्त्री खनालले यसको विकासको लागि सरकारले कुनै सम्झौता नगर्ने दाबी गरे ।
उनले खुम्चिएर बसेका स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रियकरण गराउन सरकार योजनाबद्ध रुपमा अघि बढ्ने बताए । मन्त्री खनालले हरेक किमिसका समस्या समाधान गर्दै कृषि क्षेत्रको समग्र विकासका लागि तीब्र गतिमा काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । महोत्सव आयोजक समितिका संयोजक उदयकुमार चापागाईले नेपाली चियालाई विश्वस्तरमा पुर्याउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।
३ दिनसम्म चल्ने महोत्सवमा विश्व बजारमा नेपाली चियाको सहज निर्यातका लागि सरकारी पहलबारे जानकारी समेत दिइने बोर्डका निर्देशक एवं आयोजक समितिका सदस्य सचिव दिपक खनालले बताए । शनिबार भएको अन्तराष्टिय महोत्सवमा चिया उत्पादनबारे राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।
यसअघि विश्व बजारमा नेपाली चियाको प्रबद्र्धन सर्वोच्च शिखर सगरमाथाको आधार शिविर स्याङ्बोचेमा नेपाली चियाको स्वाद लिने (टि टेस्टिङ) कार्यक्रम समेत गरिएको छ । त्यस्तै आधार शिविरबाटै नेपाली चियाको लोगो औपचारिक रुपमा सार्वजनिक गरिएको निर्देशक खनालले जानकारी दिए । महोत्सवमा विभिन्न १३ मुलुकबाट २९ जना विदेशी सहभागि भएका छन् ।















प्रतिक्रिया