नयाँदिल्ली, २३ चैत । नेपाल मामलाका जानकार भारतीय बुद्धिजीवी एसडी मुनीले विगत दुई वर्षको अवधिमा भारतले नेपालसँग गरेको व्यवहार असान्दर्भिक रहेको बताएका छन् ।
सविधान निर्माणको समयमा विशेष दूत पठाएर सविधान निर्माणमा हस्तक्षेप र नाकाबन्दी गरेर नेपाली जनतालाई दुःख दिनु भारतको गल्ती भएको उनले बताए ।
प्रधानमन्त्री केपी ओलीले गर्न लागेको भारत भ्रमणको पूर्व सन्ध्यामा नेपाली पत्रकारसँग कुरा गर्दै उनले सम्बन्ध बनाउने मामलामा दुवै पक्षबाट पहल हुनुपर्ने कुरामा जोड दिएका हुन् ।
उनले भने, ‘नेपाल र भारतबीच सम्बन्ध विग्रिनु हुँदैन । नेपाल र भारतको सम्बन्ध विग्रियो भने चीन हावी हुन्छ । चीन हावी हुनुले भारतलाई फाइदा गर्दैन र नेपाललाई त झन फाइदा हुँदैन ।’
।
प्रधानमन्त्री ओलीतिर लक्षित गर्दै बुद्धिजीवी मुनीले भने, ‘सत्ता बलियो वा सरकार बलियो भएर मात्र सम्बन्धमा परिवर्तन हुँदैन । विगतमा इन्दिरा गाँधी पनि बलियो थिइन् । नेपालमा राजा पनि शक्तिशाली थिए तर, परिवर्तनको आवश्यकता किन पर्यो ? यो कुराबाट पनि स्पष्ट हुन्छ कि सरकार बलियो वा प्रधानमन्त्री बलियो भनेर मात्र हुँदैन ।’
यति बेला भारत र नेपाल दुवैतिर शक्तिशाली सरकार छन् । भारत र नेपालको कमी कमजोरीका कारण कतिपय योजना अड्केर बसेको बताए ।
उनले भने, ‘कतिपय योजनाहरू भारतको कारणले अडकेर बसेका छन् भने कतिपय नेपालको कारणले पनि अड्केर बसेका छन् ।’
विगत दुई वर्षदेखि नेपाल र भारतको सम्बन्ध विग्रेको र अब सुधार हुने उनको अपेक्षा छ । प्रधानमन्त्री ओलीले नेपालको संसदमा बोलेर यसको पुष्टि गरिसकेको उनले बताए ।















प्रतिक्रिया