३ कार्तिक २०८३, मंगलबार

अपराध अनुसन्धान महाशाखाका प्रमुख लोहोनीलाई हेडक्वार्टर तानियो

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहोनीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । एसएसपी लोहोनीलाई फिर्ता बोलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको हो ।

तस्करीको साढे ३३ केजी सुन गायब भएपछि भरिया सनम शाक्यको हत्या भएको घटनामा प्रहरीको भूमिका शंकास्पद देखिएपछि उनलाई जिम्मेवारीबाट फिर्ता बोलाइएको हो । लोहोनीलाई फिर्ता बोलाउन गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले लोहनीको बयान लिएको थियो । कार्यक्षेत्र नाघ्दै धरान र विराटनगर पुगेर अपरेशन गरेको र अपराधी उम्काएको आरोप लागेपछि महाशाखाका प्रहरी अधिकारीमाथि छानबिनको लागि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले मंगलबार एसएसपी लोहनीको बयान लिएको हो । लोहनीसँगै अपरेशनको नेतृत्व गर्ने डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको पनि बयान लिइएको खुल्न आएको छ ।

तस्करीको ३३ किलो सुनसम्बन्धी विवादमा गत फागुन १८ मा धरानमा हत्या गरिएका सनम शाक्यको मृत्यु प्रकरणसँग प्रहरीका उच्च अधिकारीको नाम जोडिएर आएपछि गृहमन्त्रालयको निर्देशनमा प्रहरी मुख्यालयले अवकाशको मुखमा रहेका डीआईजी पुष्कलराज रेग्मीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

फागुन १९ गते बिहान ३ बजे धरानको भानुचोकमा प्रहरीले सेटिङमा बरामद गरेको शाक्यको शवलाई दिउँसो विराटनगरको पोखरियामा लगेर नाटकीय कथा बुनेको छानबिन समितिको अनुसन्धानमा खुलिसकेको छ । उक्त घटनाको मुख्य कारक मानिएको तस्करीको ३३ किलो सुन बरामद हुन नसक्नु र मुख्य अभियुक्त गोरे भन्ने चुडामणि उप्रेती प्रहरीको सम्पर्कमा रहँदारहँदै भागेको भनिनुलाई शंकास्पद तरिकाले हेरिएको गृहस्रोतले जनाएको छ ।