१ कार्तिक २०८३, आइतबार

तरकारीखेतीबाट यसरी भयो कसैले नसोँचेको आम्दानी

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सञ्चिता घिमिरे

ललितपुर, २२ चैत । इञ्जिनियरिङ पढाइ सकेका जाजरकोटका मानबहादुर तामाङले तीन वर्ष अघिबाट बडिखेलमा तरकारीखेती गरिरहेका छन् ।

१२ रोपनी जग्गा भाडामा लिएर उनले तीन वर्ष अघिदेखि नै तरकारीखेती शुरु गरेका हुन् । तीनजना नियमित कर्मचारी पनि उनको फार्ममा काम गर्छन् । व्यावसायिक रूपमा तरकारी खेती शुरु गरेपछि उनले आफ्ना आमाबुबालाई पनि आफैसँगै राखेका छन् । सडक सुविधा भएको ठाउँ र बजारको नजिक हुँदा तरकारीखेतीबाट आम्दानी गर्न सकिने उनको अनुभव छ ।

उनले भने, ‘यहाँ बजारको कति पनि समस्या छैन ।’ उनको फार्ममा गोलभेँडा, काउली, बन्दालगायतका तरकारी छन् । तामाङ जस्ता शिक्षित युवाको तरकारीखेतीमा आकर्षण बढ्दो छ । विभिन्न विषयमा अध्ययन पूरा गरेका धेरै युवाले अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न छन् । अध्ययनका लागि वा रोजगारीका लागि विदेश गएर आएका धेरैले आधुनिक र व्यावसायिकखेती गरिरहेका छन् ।

विदेशमा कृषि वा तरकारीखेती गरेर आएका युवा स्वरोजगार मात्रै भएका छैनन्, अरूलाई रोजगारी समेत दिएका छन् । उनीहरूको नेपालमा आधुनिक प्रविधि भित्र्याउनमा समेत योगदान छ ।

इजरायललगायतका देशबाट फर्किएका युवामध्ये धेरै अहिले स्वदेशमै तरकारीखेतीमा आवद्ध छन् । केहीले भने यहीँ आधुनिक प्रविधि भित्र्याएर तरकारीको बिक्री गर्न लागेका छन् । काठमाडौं उपत्यका, असापासका जिल्ला र उपत्यका बाहिर पनि शहरी क्षेत्र नजिकमा अहिले व्यावसायिक तरकारीखेती फैलिँदो छ ।

भर्खरै राजनीतिशास्त्रमा स्नातकोत्तर सकेकी दाङकी रीता सुनार पनि तरकारीखेतीबाट आत्मनिर्भर बन्ने र अरूलाई समेत रोजगारी दिने युवा समूहमा पर्छिन् । उनले तीनजनालाई नियमित रोजगारी दिएकी छिन् ।

विदेश जाने प्रक्रियाका लागि काठमाडौं आएका होस् वा भिसा कुरेर बसेका जिल्लावासी किन नहोस् ती सबै युवा एकपटक ‘रीता दिदी’ सम्झँदै उनी कहाँ पुग्छन् । त्यस्ता युवालाई उनले खाने र बस्ने व्यवस्था मिलाइदिएकी छिन् ।

यहाँ रहँदासम्म आफ्नो फार्ममा काम गर्न लगाएर जाँदा पारिश्रमिक दिने गरेकी छिन्, उनले । पहिले साथीको फार्ममा काम गरेकी उनले उताबाट सिकेर आफूले काम थालेकी हुन् । १५ रोपनी जग्गामा झण्डै २१ लाखको लगानीमा उनले आफ्नै कृषि फार्म सञ्चालनमा ल्याएकी छिन् । उनले भनिन्, ‘काम शुरु गरेको दुई वर्षमा राम्रो नै भइरहेको छ ।’

तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशी गुगलबाट आवश्यक कुरा खोजेर र युट्यूबबाट नयाँ ज्ञान सिकेर खेती गर्ने जमात तरकारीखेतीमा बढिरहेको बताए । तरकारीखेतीमा युवा पुस्ताको आकर्षणले कृषि आधुनिक बन्दै गएको उनले बताए ।

नयाँ पुस्ताले आधुनिक र प्रविधियुक्त खेती गरिरहेका छन् । प्रविधिको प्रयोग गर्दा बोटसम्म पानी पाइपबाट नै जान्छ । रासायनिक मल पनि पाइपबाट जान्छ, बोकेर हाल्नु पर्दैन, उनी भन्छन्, ‘पहिले सधैँं घाममा वा भिज्दै कडा शारीरिक परिश्रम गर्नुपर्छ भनेर युवा खेतीमा लाग्न चाहँदैनथे तर अहिलेको अवस्था परिवर्तन भएको छ, प्रविधिले खेती गर्न सहज बनाएको छ ।’

पहिले खेतबारीमा काम गर्न धुलोमैलो भएर जाने गरेकामा अहिले एप्रोन र चस्मा लगाएर जानेको संख्या बढ्दै छ ।

विदेशबाट फर्किएर तरकारीखेतीमा लागेका युवा धेरैका लागि प्रेरणाको स्रोत समेत बनेका छन् । नुवाकोटका सोम तामाङ पहिले उनको गाउँमा गोलभेँडाखेतीमा लाग्ने एक जना मात्रै युवा हुन् । अहिले सिंगो गाउँमा गोलभेँडाखेती फैलिएको छ । यस वर्ष उनको गाउँबाटै मात्रै झण्डै रु ९० लाखको गोलभेँडा बिक्री भएको छ ।

तामाङले विदेशबाट सिकेका कुरा गाउँलेलाई समेत सिकाएर सिंगो गाउँलाई सम्पन्न बनाए । जोशीले भन्छन्, ‘तामाङ जसरी नै विदेशबाट सिकेको सीप र प्रविधि यहाँ प्रयोग गर्ने युवा धेरैजना हुनुहुन्छ । परम्परागत खेती गर्नेलाई विस्तारै आधुनिक खेती गर्ने जमातले विस्थापित गर्दै लगेको छ ।’

परम्परागत खेती गर्ने पहिले उत्पादन गरेर बजार खोज्छन् । आधुनिक किसान भने बजारको मागअनुसार उत्पादन गर्छन्, जोशी भन्छन्, ‘शिक्षित युवाले यो एक दशकमा कृषिमा साँच्चै नपत्याउने गरी परिवर्तन गरिरहेका छन् ।’ आगामी वर्षमा तरकारीखेतीमा अझै परिवर्तन हुने उनले बताए ।

जीविकोपार्जनका लागि विदेश गएका धेरै युवा स्वदेश फर्किएपछि व्यावसायिक किसान बनेका छन् । आधुनिक प्रविधि प्रयोग गर्ने किसानलाई निर्देशनालयले विभिन्न कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको छ । – रासस