१ कार्तिक २०८३, आइतबार

काभ्रेमा मयुरपछि साझा र मेट्रो यातायातको सेवा

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल, २१ चैत । कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा यातायात बन्द गरेपछि यातायात व्यवस्था विभागबाट अस्थायी इजाजतपत्र लिएर साझा यातायात, मेट्रो सिटी यातायात लगायत सातवटा सेवा समितिले सेवा दिन थालेका छन् ।

बिहानैदेखि काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिअन्तर्गत चल्ने सार्वजनिक यातायातले सेवा बन्द गरेसँगै यातायात व्यवस्था विभागबाट रुट परमिट लिएर काठमाडौं–धुलिखेल बस सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि बस सेवाहरुले बुधबारदेखि नै काठमाडौंदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म सेवा दिएका हुन् ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तुल्सीराम अर्यालका अनुसार विभागले गरेको आह्वानअनुरुप बुधबारमात्रै सातवटा यातायात सेवा समितिले अस्थायी रुट परमिट लिएर बस सेवा सञ्चालनमा ल्याएको बताउनुभयो । “ती सेवा समितिहरुले आज (बुधबार)का लागि अस्थायी इजाजतपत्र लिएको हो, उनीहरुले चाहेको खण्डमा स्थायी इजाजतपत्र लिएर निरन्तर सेवा दिन सक्नेछन्”– अर्यालले भन्नुभयो ।

यातायात व्यवस्था विभागले बुधबारदेखि नै यातायात व्यवसायीहरुलाई सवारी सञ्चालन इजाजतपत्र (रुट परमिट) खुलाएको हो । इजाजतपत्र लिन अनुमति खुलेसँगै बुधबारदेखि काठमाडौंबाट काभ्रेपलाञ्चोकको बनेपा हुँदै धुलिखेल र पनौतीसम्म समेत साझा, मयुर र मेट्रो यातायात प्रालिले सेवा दिन शुरु गरेका छन् ।

जिल्लामा पुराना बस व्यवसायीले दिँदै आएको सेवासँगै नयाँ बस सेवा समितिले पनि थप सुविधासम्पन्न बससेवा दिन थालेपछि यात्रुहरु खुशी भएका छन् । ‘हामी सधैं पुराना बसमा यात्रा गर्नुपर्थ्यो, अहिले नयाँ बस सेवा समितिले सुविधासम्पन्न सेवा दिन थालेकोमा धेरै खृुशी छु” स्थानीय बासिन्दा अशोक खनालले बताउनुभयो । –रासस