
काठमाडौँ, २१ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले–माओवादी दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका छन् ।
बुधबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको उनको जनाए ।
अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको मतैक्य रहेको बताए । ‘मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौं । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौं’, प्रचण्डले भने ।
दुई पार्टीबीचको एकता रोक्न चलखेल भएको समेत बताएका छन् । तर, उनले यस्तो चलखेल कसले गरेको छ भन्ने चाहिँ खुलाएका छैनन् । यद्धपी उनले ती चलखेलहरुले एकता नरोकिने जिकिर गरे ।
बैठकमा प्रचण्डले भने, ‘पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ । हिजो मात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको रिपोर्ट बुझेका छौं । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउन हामी लागिरहेका छौं ।’
अध्यक्ष प्रचण्डले केन्द्रमा सह–अध्यक्षको मोडलमा जाने सहमति भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराए ।
संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो ।















प्रतिक्रिया