नेपालगञ्ज, १६ चैत । बाँके जिल्लामा सञ्जयकुमार वर्माले आफ्नी पत्नीलाई बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका छन् ।
आपसी विवाद हुँदा वर्माले पत्नी शान्तिदेवी वमालाई गोली प्रहार गरेर हत्या गरेका हुन् । डुडुवा–३, वनकट्टीका सञ्जयले सुतिरहेकी पत्नी शान्तिलाई बिहीबार राति करिव ११ बजे गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
पत्नीको हत्या गर्ने बेला सञ्जयले दुई राउण्ड गोली प्रहार गरेका थिए । उनले बाह्रबोरको बन्दुक चलाएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।
शान्तिको कोखा र दाहिने हातमा गोली लागेको छ । शान्तिको घटनास्थलमै मृत्यु भएको थियो ।
बाह्रबोरको बन्दुकको लाइसेन्स आफ्नै नाममा लिएर सञ्जयले घरमै बन्दुक राखेका थिए । खाना खाएर सबै सुत्न गएपछि सञ्जयले खटियामा सुतिरहेकी श्रीमतीलाई गोली हानेका हुन् ।
सञ्जय मानसिक रोगी हुन् । उनले नियमित औषधि खाइरहेका छन् । उनले सधैँ श्रीमतीमाथि शंका गरिरहन्थे । पत्नीले आफूलाई छाडेर अर्कैसँग जान्छे की भनेर सञ्जयले गोली हानेर हत्या गरेको हुन सक्ने आफन्तको भनाइ छ ।
श्रीमतीको हत्यापछि सञ्जय भाग्न खोजेका थिए । दोस्रो तलामा घटना भएलगत्तै घरका अरु मान्छेले ढोका थुनेर उनलाई भाग्न दिएका थिएनन् । घरपरिवारले नजिकै रहेको प्रहरी चौकीमा खबर गरेपछि सञ्जयलाई प्रहरीले पक्राउ गरेको छ ।















प्रतिक्रिया