४ कार्तिक २०८३, बुधबार

कलाकारसँग सेल्फी लिन दर्शकलाई प्रतिबन्ध

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस । फ्रान्सको कान्समा वर्षेनी भइरहने ‘कान्स फिल्म फेस्टिभल’ यो वर्षदेखि रेडकार्पेटमा कलाकारसँग सेल्फी लिन दर्शकलाई प्रतिबन्ध लगाइने भएको छ । फेस्टिभल प्रमुख थिएरी फ्रेमूले रेडकार्पेटमा सेल्फी लिँदा फिल्मको प्रिमियर अघि कलाकारमाथि दुव्यर्वहारसँगै कार्यक्रमको व्यवस्थापन बिग्रिने भएकाले फेस्टिभलको बैठकले सेल्फी लिन प्रतिबन्ध लगाएको बताए ।

थिएरीले सन् २०१५ मा पनि फेस्टिभलमा सेल्फीलाई प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । उनले फिल्म हेर्न आउने दर्शकलाई पनि कलाकारलाई सही व्यवहार गर्न सल्लाह दिएका थिए । यसपटक भने सेल्फीमै प्रतिबन्ध लगाउने निर्णय लिएका छन् । ‘रेड कार्पेटमा आउने दर्शकका लागि कलाकारसँग सेल्फी लिन प्रतिबन्ध लगाइएको छ ।

‘रेडकार्पेटमा सेल्फी लिने कामलाई रोक्न कस्तो उपाय अपनाउने भन्ने हामीलाई केही थाहा छैन’, उनले भनेका छन्, ‘हामी प्रहरी पनि होइनौं । सेल्फी लिने मान्छेको उपस्थिति र अवस्थाबारे जानकार पनि छौं । तर पनि उनीहरूले सेल्फी लिएका कारण रेडकार्पेट अस्तव्यस्त बन्न थालेको छ । जसले गर्दा फेस्टिभलको गुणस्तरमा गिरावट आएको छ ।’ उनले फिल्मका कलाकार तथा टिमलाई यो प्रतिबन्ध फुकुवा हो या होइन् भन्ने चाहिँ केही खुलाएका छैनन् । यो फेस्टिभलमा हलिउडका स्टारले पनि सेल्फी लिने गर्दछन् ।

थिएरीले फिल्मकर्मी कान्समा सेल्फी लिन नभई फिल्म हेर्न जाने गरेको बताए । ‘हाम्रो दायित्व भनेको फेस्टिभललाई मर्या्दित र इज्जतिलो बनाउने हो । हामी रेडकार्पेटको माथिबाट रेडकार्पेटका गतिविधि नियालिरहेका हुन्छौं । तर दर्शक र कलाकारको सेल्फी होडबाजीले रेडकार्पेट नै अस्तव्यस्त बनेको पनि हेर्नुपरेको छ’, उनले भनेका छन् ।

उनले फिल्म समीक्षकलाई हुने समस्यालाई मध्यनजर गर्दै प्रेस स्क्रिनिङको समयलाई परिवर्तन गर्नुपर्ने मुद्दा पनि उठाएका छन् । फेस्टिभलमा प्रेस स्क्रिनिङ बेलुकाको रेडकार्पेट प्रिमियरभन्दा अघि नै राख्ने चलन परम्परादेखि नै चल्दै आएको छ । तर अब फिल्म समीक्षकलाई आधाभन्दा बढी फिल्म प्रिमियरको अघिल्लो दिन नै देखाउने व्यवस्था गरिएको उनले बताए । तर केही समीक्षकले थिएरीको यो कदमको विरोध पनि गरेका छन् ।

कान्समा प्रदर्शनका लागि सूचीमा राखिएका केही पुराना धारका फिल्मप्रति समीक्षकले आलोचना गर्न थालेपछि त्यस्ता फिल्मले फेस्टिभलको भविष्यलाई असर पार्नसक्नेमा आयोजक सजग हुन थालेका छन् । थिएरीले कान्समा सहभागी हुन आउने फिल्म अनिवार्य रुपमा फ्रान्सेली थिएटरमा प्रदर्शन गर्नुपर्ने नयाँ नियम ल्याएको पनि बताए । – एजेन्सी