३ कार्तिक २०८३, मंगलबार

एकीकृत पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय !

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौँ, १४ चैत । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बन्ने नेकपा कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने सहमति कार्यदलमा भएको छ ।  संयुक्त कार्यदलमा यस विषयमा सहमति जुटेपनि यो विषयमा पार्टी एकता संयोजन समितिमा थप छलफल गर्नुपर्ने भएकाले लिखित भने गरिएको छैन ।

केन्द्रीय कमिटीको एक तिहाई अर्थात ९९ सदस्यीय पोलिटव्यूरो हुनेछ । त्यसको एक तिहाई अर्थात ३३ सदस्यीय स्थायी कमिटी बनाउने कार्यदलमा अनौपचारिक सहमति एक नेताले बताए ।  संयुक्त कार्यदलले केन्द्रीय कमिटी २९९ सदस्य, पोलिटव्यूरो ९९ सदस्य, स्थायी कमिटी ३३ सदस्य, प्रदेश कमिटी १५० सदस्य, जिल्ला कमिटी ७५ देखि १२५ सदस्य, महानगर कमिटी ७५ सदस्य, उपमहानगर कमिटी ६१ सदस्य, नगर÷गाउँपालिका कमिटी ५१ सदस्य, वडा कमिटी २५ सदस्य र प्रारम्भिक कमिटी १५ सदस्य बनाउने सहमति जुटाएको छ ।

अहिले एमालेको २०६ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको ४ हजार भन्दा बढीको केन्द्रीय कमिटी छ । तर, माओवादीले पार्टी एकता गर्दा केन्द्रीय कमिटीको संख्या ९९ मा झार्ने बताइसकेको छ । यद्यपी, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै विद्यार्थीहरुको गोप्य भेलामा बराबारी हैसियतमा मात्र पार्टी एकता हुने बताएका थिए । यसले गर्दा एकताको मुद्धा पेचिलो बनेको छ ।

एमालेमा २०६ केन्द्रीय सदस्यमध्ये उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति भएपछि सो पद ३ वर्षदेखि रिक्त छ । केन्द्रीय सदस्य प्रल्हाद गिरी संघीय फोरमबाट सांसद बनिसकेका छन् । महिन लिम्बुको निधन भएको छ भने शिवमाया तुम्बाहम्फे प्रतिनिधिसभाको उपसभामुख र सानुकुमार श्रेष्ठ प्रदेश ३ को सभामुख भएपछि पार्टीको पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राजीनामा दिँदा एमालेको केन्द्रीय कमिटी २०० सदस्यमा झर्नेछ । माओवादीका ९९ थपेर २९९ बनाउने एमाले प्रस्ताव छ । तर, माओवादी त्यसमा पूर्ण रुपले सहमत भएको छैन ।  यसले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै दुई पार्टीबीचको एकता सम्भावना पनि टरेको छ ।

पार्टी एकताका लागि अन्तरिम बिधान र संगठन एकीकरणको मापदण्ड टुंगो लगाउन बनेको कार्यदलले भने चुनाव चिन्ह बाहेक अन्य विषय टुंगो लगाएर प्रतिवेदन तयार पारिसकेको छ । चुनाव चिन्ह भने सूर्य राख्ने कि अर्को चिन्ह खोज्ने भन्नेमा कार्यदलमा सहमति नभएको कार्यदलमा रहेका एक नेताले जनाएका छन् ।

एमालेले एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य प्रस्ताव गरेको छ भने माओवादीले मानेको छैन । माओवादीले भने कुनै तेस्रो चिन्ह खोज्ने वा सूर्यभित्र हँसिया हथौडा राख्ने प्रस्ताव अघि सारेको छ । गत दशैंमा वाम गठबन्धन बनाएर चुनाव लड्ने सहमति गर्ने क्रममा माओवाादी सूर्य चिन्हमा सहमत भएको थियो तर, प्राविधिक कारण देखाएर पछि हटेको थियो ।

माइतीघरको एक घरमा एमालेका बिष्णु पौडेल र माओवादीका जनार्दन शर्माले सूर्य चिन्हमा सहमति जुटाए थिए, जसमा दुबै पार्टीका अध्यक्ष ओली र प्रचण्डले हस्ताक्षर समेत गरेका थिए । तर, भोलीपल्ट प्रचण्ड सूर्य चिन्हमा चुनाव लड्ने सहमतिबाट पछि हटेका थिए ।