
काठमाडौं, १४ चैत । ‘म उड्न सक्तिन, मलाई गाउन देऊ’ ३० को दशकमा संगीतमा आफ्नो स्वतन्त्रता खोज्दै अमेरिकी संगीतकार स्टेफेन जोसुआले भनेका थिए । विश्वमा शक्ति साम्राज्यको गतिमा अगि बढिरहेको अमेरिकामा संगीत बजार पनि फस्टाउँदै थियो । तर, क्रुर सहरमा संगीतको बजारको मोल थिएन । काठमाडौं त्यस्तै संवेदनाहिन सहर लाग्छ, सुवास चाम्लिङलाई ।
मलेसीया र खाडीमा कमाएको पैसाले किनेको एउटा मोटरसाइकल छ, काँडाघारीको कुनामा एउटा कोठाको बास । दिनभरी संगीतकार, गीतकार र एरेन्जरसँगको भेटघाट छ अनि राती खाडीजानु अघिको सपनाको गीत गुनगुनाउनुको विकल्प छैन ।
उनको जीवनशैलीलाई प्रत्यक्ष हेर्ने मानिसले मनभित्रका पीडाको अन्दाज गर्न सक्तैन । सुकिला देखिन्छन्, टिपटप भएर हिँड्छन् । तर मनभरी पीडाको पहाड पनि सँगै बोकेर हिँडेका छन् ।
‘हर रात सपनीमा ऐठन हुन्छ, गाउँमा सायद पहिलो गयो कि…’ जब उनी गीतको एक टुक्रा सुनाउँछन्, फरक स्वादको स्वर भन्ने आम साधारणलाई लाग्छ । तर यो स्वादमा मरमसला हाली बेचिदिने ब्रान्डेड बजार कहाँ छ र उनका लागि । जोडबल गरेर गीतको जोहो, संगीतकारको भरपोषण र म्युजिक भिडियो निर्माणका लागि परिश्रमका पसिना बगाए । गीत प्रेम र त्यसको भोल्टेजका बारेमा व्याख्या गरेपनि उनको गिती संघर्षमा उज्यालो कहिले आउला भन्ने आशाचाहीँ बाँकी छ ।
४ वर्ष मलेसीया, २ वर्ष कतारमा रोजगारी गरी नेपाल फर्किएको खोटाङ सिमपानीका चाम्लिङको बाल्यकालदेखिको सपना गुनगुनाउने र संसारलाई सुनाउने । त्यहि सपनाका विस्कुनलाई एकतित्र पार्नका लागि खाँचो रहेको रकम जोहो गर्न वैदेशि रोजगारीमा गएका थिए । ‘बाहिरबाट कमाएर ल्याएको पैसा सबै गीतमा खन्याइयो, काठमाडौंमा अलिकति पैसाले सपनाको बाटो हिँड्न कठिन रहेछ भन्ने अनुभव पनि गरियो । यो प्रतिभामा दलाली गर्ने चरित्र बोकेको ठाउँ हो । हामी गाउँले निक्कै सोझा रहेछौं ।’, उनका केही संस्मरण छन् ।

संघर्षको मैदानबाट उनी भागेका छैनन् । कति मादलका खरी झरे, गिटारका तार चुँडिए होला तर उनको स्वप्नयात्रा चुँडिएको छैन । बरू, एक–एक गरेर जोड्ने यात्रामा सक्रिय छन् । ‘रहर र चाहना यस्तो चिज हो जसले मलाई डोर्याइरह्यो । त्यहि बाटोमा हिँड्नका लागि मैले गायनको बाटोलाई अघि बढाउने कोशिश गरिरहेको छु ।’, उनी केही खुल्छन् र भन्छन्,‘तर सहर अझ निमर्म रहेछ । चाहना र सपनामात्र होइन यहाँ प्रतिभा बेच्न पनि दलालहरूको पाउ पर्नुपर्छ ।’
कति मादलका खरी झरे, गिटारका तार चुँडिए होला तर उनको स्वप्नयात्रा चुँडिएको छैन । बरू, एक–एक गरेर जोड्ने यात्रामा सक्रिय छन्
यो भिँडमा अवसर गाँठो परेर बसिरहेको ठान्ने उनलाई लाग्छ– गाँठो एक दिन फुक्नेछ । कुनै धरापमा अल्झिएको चरोजस्तै चाहना अल्झिरहेको छ तर त्यसले उन्मुक्ति पाउने ठान्छन् उनी । ‘यहाँ पैसाले चरित्र निर्माण गर्दो रहेछ, कला र प्रतिभाको नयाँ आयाम पनि मूल्यका आधारमा निर्धारण हुन्छ । राम्रा कम्पनीले गीतलाई त्यहि आधारमा विश्वव्यापीकरण गर्ने पाएको छु संघर्षको मैदानमा उत्रिएका हामीले युद्ध जित्न निक्कै कठिन नै देख्छु तर असम्भव छैन ।’, उनी भन्छन्,‘तर जुन बाटोमा बामे सर्न थालियो यसमा हिँड्न दौडन सकिन्छ भन्ने आत्मविश्वासबाट भागेको छैन, भाग्दिन । भाग्न हुँदैन भन्छु ।’
काठमाडौंको चरित्र बुझिरहेका छन् । यहाँ सकभर नयाँ प्रतिभाको ठूलो आर्थिक मूल्य चुकाउनुपर्छ । त्यतिले भएन भने मिडियालाई फकाउन पनि आर्थिक मूल्य नै चुकाउनुपर्छ । संगीतको आराधनाको कथा कसैले लेखिदिदैन । भनौ, एकप्रकारको सिन्डिकेटले गाँजेको छ, काठमाडौंलाई । ‘दोष सहरको होइन, सहर बुझ्न नसक्ने हामीजस्तो गाउँले केटोको हो जो खाडीमा कमाएर सपनाको धुन कोर्ने रहरमा अलमलिरहेका छौं ।’, चाम्लिङ थप्छन्,‘यस्तो अलमल अब तोडिनैपर्छ । मान्छेका फरक क्षमताले बजारमा स्थान पाउनपर्छ ।’
आत्मविश्वास सबैभन्दा ठूलो आशिर्वाद हुनसक्ने ठान्ने चाम्लिङलाई अहिले नि लाग्छ– शव्दले सोच्न बाध्य पार्छ तर गीतले महसुस गर्न र विचार पैदा गराउन सक्छ । त्यसैले भन्छन्,‘एक दिन सपना जाग्ने छ । यसै मृत हुनेछैन ।’















प्रतिक्रिया